भद्रपुर । बडादशैं २०७६ को अवसर पारेर झापाको भद्रपुर-३ भीमनगरमा सञ्चालित झापा जिल्लास्तरीय प्रथम भीमनगर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक भीमनगर ब्वाइज क्लबले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनल प्रतिस्पर्धामा बिर्तामोड फुटबल क्लबलाई ४-० गोलअन्तरको फराकिलो जित हात पार्दै आयोजकले उपाधि चुमेको हो ।

ज्ञानेचोकको श्रीजंगा हाटबजारको खेलमैदानमा सम्पन्न फाइनल खेलमा विजयी टिमका तर्फबाट रोमन तामाङले २ गोल गरेका थिए भने मिलन राई र विकास राईले १-१ गोल गरी खेललाई एकतर्फी बनाएका थिए ।

जीतसँगै आयोजक क्लवले ६० हजार नगद पुरस्कारसहित विजेताको शिल्ड प्राप्त गरेको छ भने उपविजेता बिर्तामोडले ३० हजार नगद पुरस्कारमा चित्त बुझाउनु परेको छ । प्रतियोगिता समापन समाारेहकी प्रमुख अतिथि भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठले विजेता तथा उपविजेता टिम र खेलाडीलाई शिल्ड तथा नगद पुरस्कार प्रदान गरिन् ।

प्रतियोगिताको पहिलो पुरस्कार भद्रपुर नगरपालिकाले व्यवस्था गरेको कार्यक्रम सञ्चालक क्लबका सल्लाहकार टेकमान सुब्बाले जानकारी दिए । प्रतियोगितामा जिल्लाका ८ वटा उत्कृष्ट टिमको सहभागिता रहेको क्लबका अध्यक्ष लीलाबहादुर गुरुङले बताए ।