झिलझिले । पर्यटन भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन झापाको शिवसताक्षी नगरमा वर्षौंदेखि होटल व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् ।

शिवसताक्षी नगरमा रहेका पर्यटकीय क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई आवास तथा भोजन सहज लगायतको सेवा दिने हेतुले नगरका होटल व्यवसायीहरु संगठित भएको होटल शितलका सञ्चालक सीता सुनवारले बताइन् ।

होटल व्यवसायीहरुले आफ्नो व्यवसायलाई स्वच्छ, मर्यादित र उदाहरणीय बनाउन आफूहरु एकजुट भएको बताएका छन् । होटलभित्र अवाञ्छित गतिविधि हुन सक्छ, सुरक्षाका दृष्टिकोणले पनि होटल खतरामा रहेको भन्दै त्यसलाई रोक्न व्यवसायी एक हुनुको विकल्प नरहेको व्यवसायीले बताएका छन् ।

व्यसायीहरुले शुक्रबार नगरको धार्मिक तथा पर्यटकीयस्थल दोमुखामा नगरका व्यववसायीहरु भेला भइ संगठित भएको जानकारी दिएका हुन् । सो भेलाबाट योगेश लिङदेनको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति समेत गठन भएकोे छ ।

नवगठित तदर्थ समितिको सदस्य सचिवमा दाताराम बिष्ट, सदस्यहरु सीता सुनुवार, सानु गिरी, सुबास लिम्बू, तुला बोखिम, नगेन्द्र रिजाल, चन्द्रकला राई, सम्झना शाक्य, कुमार इजम र यादव ढकाल चयन भएका छन् ।

शिवसताक्षी होटल व्यवसायी संघलाई कानुनतः पूर्णता दिनको लागि भुवन प्रधानको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिति समेत गठन भएको छ । नवगठित शिवसताक्षी होटल व्यवसायी संघले सबै कानुनी प्रक्रिया पूरा गरी निकट भविष्यमा संघलाई औपचारिकता दिइने तदर्थ समितिका समितिका सदस्य तुला बोखिमले बताए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नविन इजमले हरेक व्यवसाय संगठित नभएसम्म व्यवसायमा विभिन्न बाधा अवरोध आउनसक्ने भन्दै हरेक क्षेत्रका व्यवसायीहरु संगठित रुममा अघि बड्न आवश्यक्ता रहेको बताए । हाल नगरमा साना ठुला गरी कम्तिमा २ सय होटल सञ्चालनमा रहेका छन् ।