झापा । हिमालयन टिभीको रियालिटी शो भ्वाइस अफ नेपालको सिजन टुको टप १२ मा परेका झापा बिर्तामोडका राम लिम्बूलाई जिताउन स्थानीय समर्थकले अभियान सुरु गरेका छन् ।

आफूलाई मन परेको प्रतिस्पर्धीलाई भोट गर्दै आएका बिर्तामोडका युवाहरुले राम लिम्बू जिताऊ अभियान बनाएर सबैसँग भोट गर्न अपिल गरेका छन् । रामका फ्यानहरुले आज (बुधबार) बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै राम लिम्बूलाई भोट गर्न आह्वान गरे ।

उनीहरुले बिर्तामोडमा कार्यालय स्थापना गरेर प्रचारप्रसारलाई तिव्रता दिँदै आएको अभियानका सल्लाहकार प्रकाश लिङ्देनले जानकारी दिए । उनका अनुसार बिर्तामोडमा मात्र नभएर धरान, इटहरी, दमक, इलाम, श्रीअन्तु, फिदिम, ताप्लेजुङलगायतका स्थानमा प्रचार गरिएको छ ।

‘हामीले पैसा उठाएका छैनौँ, हामीले स्वेच्छाले आफैँबाट खर्च गरेर प्रचारप्रसार गरिरहेका छौँ’, उनले भने । करिब ४० हजारजतिको पम्प्लेटिङ, व्यानरिङमा खर्च भएको उनको भनाइ छ । उनीहरुले फ्यान क्लबजस्तै बनाएर अभियानलाई सफल बनाउन लागिपरेको पनि सुनाए ।

अभियानको संयोजकमा आशिष बुढाथोकी रहेका छन् । उनी राम लिम्बूलाई सांगीतिक यात्रामा नेतृत्व गर्ने अगुवा हुन् ।

अभियानको सहसंयोजकमा अनिष सुवेदी रहेका छन् भने सचिवमा बाप्पा शाह, कोषाध्यक्षमा सुमन गुरुङ, सदस्यहरुमा आकाश उप्रेती, भरत राई, बेनु गुरुङ, रमेश गुरुङ, सुमन खत्री, इशान ओली र प्रविण गुरुङ रहेका छन् । अभियानको सल्लाहकारमा युवा नेतृत्व प्रकाश लिङ्देनसहित आशिष वन, मनोज बुढाथोकी, समिल राई र कैलाश प्रसाई रहेका छन् ।

अभियानका सचिव शाहका अनुसार विदेशमा रहेका राम लिम्बूका समर्थकले पैसा पठाउने भनिरहेका छन् तर आफैँ भोट गर्न आग्रह गरिरहेको बताइएको छ ।

झापा बिर्तामोड ३ का बासिन्दा राम लिम्बूको पहिलो रोजाइ फुटबल खेलाडी बन्नु थियो । उनी एन्फाको छनौटमा पनि परे । तर, खेल दौरानमा उनको खुट्टामा चोट लागेपछि उनी घर फर्किएका थिए ।

स्थानीय ग्लोरी बोर्डिङ स्कुलको कक्षा १० मा पढ्दै गर्दा एउटा गायन प्रतियोगितामा भाग लिँदा उत्कृष्टको सूचीमा परेपछि उनी गायन क्षेत्रमा मोडिएका रहेछन् । बिर्तामोडमा ५ वर्षदेखि निरन्तर सांगीतिक क्षेत्रमा सक्रिय २४ वर्षे यी युवा नेप्लिसियन ब्याण्डका भोकलिस्ट हुन् ।

टप १२ मा परेपछि बेस्ट पर्फमेन्स दिन सफल राम लिम्बूलाई भोट गर्नका लागि मोबाइलको मेसेज बक्समा ०८ कोड टाइप गरी ३७००० मा पठाउन सकिनेछ । भ्वाइस अफ नेपालले विदेशमा रहेका समर्थकलाई प्रभु एप्स डाउनलोड गरेर भोटिङ गर्ने व्यवस्था मिलाएको छ ।

आयोजकले भोट गर्नका लागि गएको शुक्रबारदेखि यस साताको शुक्रबारसम्म समय सीमा तोकेको छ ।