बिर्तामोड । झापाका बलबहादुर राजवंशीलाई ‘भ्वाइस अफ नेपाल’को विजेता बनाउन कोच समुदायले आव्हान गरेको छ ।

समुदायको तर्फबाट कोचिला गाभुर फ्रन्ट केन्द्रीय समितिले बुधबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी झापाबासीको पहिचानको लागि बलबहादुरलाई ‘भ्वाइस अफ नेपाल’ सिजन २ को विजेता बनाउन अपिल गरेको हो ।

झापा गौरादह नगरपालिका निवासी बलबहादुर टप १२ मा छनोट भएका छन् । यो रियालिटी शो हिमालयन टेलिभिजनबाट प्रत्येक शुक्रबार र शनिबार प्रशारण हुने कार्यक्रम हो ।

प्रशारण हुने गरेको छ । गत शुक्रबारदेखि भोटिङ राउण्ड सुरु भएकाले बलबहादुर राजवंशीलाई भोट गरेर अगाडि बढ्न सहयोग गरिदिन कोचिला गाभुर फ्रन्टले सबैमा आग्रह गरेको छ ।

कार्यक्रममा बलबहादुर झापाली चर्चिक निर्णायक तथा कोच प्रमोद खरेलको टिममा परेका छन् । उनले गायन यात्रा शुरु गरेको एक दशक भइसकेको छ । राजवंशीले वेदना ४ एल्बम पनि निकालिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बोल्दै फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले झापामा २२ वटा उपसमिति गठन गरी आफ्नो संस्थाको तर्फबाट प्रचारप्रसार तथा भोट गर्ने कार्य जारी राखेको बताए ।

बलबहादुरलाई मोबाइलबाट भोट गर्दा उनको कोड नम्बर ०३ टाइप गरी ३७००० मा सेन्ट गर्नुपर्नेछ ।