शनिश्चरे । २०५८ सालमा २८ जनाबाट सुरु गरिएको झापा अर्जुनधारा-८ को प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाले बिहीबार १७औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

२८ जना शेयर सदस्यबाट २ हजार ८ सय शेयर पुँजीबाट सुरु भएको यस संस्थाको अहिले कुल चुक्ता शेयर पूँजी ४४ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले जनाएको छ । शेयर सदस्य संख्या पनि ५८९ जना पुगेका छन् । जसमा ५२ जना अपाङ्गता भएका सदस्य छन् । संस्था सञ्चालक समितिकी अध्यक्ष निर्मला पौड्यालको अध्यक्ष र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष डिल्ली घोर्साईंले गरेका थिए ।

कुल चुक्ता शेयर पूँजी ४४ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले गत आर्थिक वर्ष ०७५/०७६मा दुई करोड ६१ लाख ७७ हजार तीन सय ७२ रुपैयाँ ७५ पैसा निक्षेप संकलन गरि दुई करोड ५० लाख ९८ हजार सात सय ३६ रुपैयाँ फिर्ता गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै सोही आर्थिक वर्षमा दुई करोड ३८ लाख ७४ हजार पाँच सय रुपैयाँ कर्जा लगानी गरि एक करोड ९५ लाख २८ हजार तीन सय ९५ रुपैयाँ कर्जा असुली गरेको छ ।

जम्मा आम्दानी एक करोड १२ लाख ५१ हजार पाँच सय रुपैयाँ, जम्मा खर्च ९९ लाख ६२ हजार पाँच सय रुपैयाँ र सञ्चालन नाफा १२ लाख ८९ हजार रुपैयाँ रहेको संस्थाले चालु आर्थिक वर्षको लागि चार करोड २५ लाख रुपैयाँ बराबरको बजेट प्रस्तावित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष पौड्यालले, लेखा समितिको प्रतिवेदन सदस्य गायत्रा सिटौलाले र चालु आर्थिक वर्ष ०७६/०७७को नीति तथा कार्यक्रम र बजेटसहितको प्रतिवेदन व्यवस्थापक तुलसा कुँवरले प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा ज्येष्ठ शेयर सदस्यतर्फ भगवती भण्डारी, असल कर्जातर्फ मनमाया तामाङ, उत्कृष्ट बचतकर्तातर्फ चन्द्रकला सुवेदी, उत्कृष्ट बाल बचतकर्तातर्फ खुश्बु नेपाल, उत्कृष्ट बचत तथा कर्जातर्फ दुर्गादेवी विष्ट, उत्कृष्ट सदस्य संख्या वृद्धीतर्फ लीलाजंग थापा र सूचना प्रविधितर्फ सन्दिप घिमिरेलगायतलाई सम्मानित गरिएको थियो ।

प्रमुख अतिथि ढकालले सहकारीको नयाँ ऐन् र नीतिका विषयमा सचेतना कार्यक्रममार्फत् संस्थाका शेयर सदस्यलाई जानकारी गराएका थिए । कार्यक्रममा नगर पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख पदमलाल राई, झापा जिल्ला सहकारी संघका सदस्य टंक बराल, नगर सहकारी समन्वय समितिका अध्यक्ष प्रेमसागर सापकोटा, कालिका बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर तामाङ, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी अध्यक्ष मेनुका पौड्याल, श्रद्धा कृषि सहकारी संस्थाका सचिव कृष्णप्रसाद चापागाईं, प्राकृतिक स्वास्थ्य उपचार केन्द्रकी सञ्चालक कविता मगर, संस्थाका संस्थापक अध्यक्ष दीपेन्द्र काफ्ले, सल्लाहकार सदस्य लेखनाथ पोखरेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।