इलाम । इलामको देउमाई नगरपालिका–४ तल्लो बुधबारेका अशेष बुढाथोकि वैंकको जागिर छाडेर दुबई गए । चार वर्षको वैदेशीक रोजगारीबाट फर्किएर उनले गाउँमा नै डेरी उद्योगमा लगानी गरेर गजुरमुखी दर्शन डेरी उद्योग सञ्चालन गरेका छन् ।

विदेशको कमाईमा वैंकबाट लिएको ऋण थपेर उनले शुरुमा ४० लाखको लगानीमा डेरी स्थापना गरेका हुन् । लगानी थपिदैजाँदा अहिले उद्योगमा ६५ लाख रुपैयाँ लगानी भइसहेको छ । बुढाथोकी करिव दुई सय ५० किसानले उत्पादन गरेको एक हजार लिटर दुध दैनिक आफ्नो डेरीमा प्रशोधन गर्छन् । त्यसबाट एक हजार दुई सय किलो छुर्पी र सोही हाराहारीमा घ्यू उत्पादन हुन्छ ।

उनले उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ भने घ्यू भने नेपाली बजारमा नै विक्री हुन्छ । डेरी उद्योगबाट सवै खर्च कटाएर महिनाको एकदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी हुने भएपछि उनी फेरि विदेश नजाने सोचमा छन् । ‘विदेशको जति यही हुन्छ’, उनले भने, ‘यही यत्रो लगानी गरिसक्यो, अब विदेश गइन्न ।’ डेरीबाट उत्पादन भएको छुर्पी प्रतिकिलो एक हजार रुपैयाँ र घ्यू छ सय रुपैयाँ प्रतिकिलोका दरले विक्री हुने गरेको उनले सुनाए ।

यता इलामको माइजोगमाई गाउँपालिकाका मिलन खत्रीले २०७२ सालमा अढाई लाख रुपैयाँ लगानी गरेर डेरी उद्योग थालेका थिए । दैनिक २६० लिटर दूध प्रशोधन गर्थे । महिनामा २८० किलो घ्यू, २६० किलो छुर्पी उत्पादन हुन्थ्यो । उनले अहिले इलाम नगरपालिका-७ सदरमुकाममा नै सेतो पहाड डेरी उद्योग सञ्चालन गरेका छन् ।

मिलनले डेरी उद्योगमा लगानी थपेर प्रशोधन क्षमता बढाएका छन् । डेरी उद्योगको क्षमता बढाउँदा ५५ लाख रुपैयाँजति लगानी भइसकेको छ । उनी अहिले एक हजार छ सय लिटर दूध प्रशोधन गर्छन् । त्यसबाट महिनामा एक हजार आठ सय किलो घ्यू, एक हजार छ सय ५० किलो छुर्पी उत्पादन गर्छन् । डेरी उद्योगमा मिलनका दाजु र बाबुले पनि काम गर्छन् । उद्योगको सवै खर्च कटाएर महिनामा दुई लाख रुपैयाँ जति आम्दानी हुने गरेको उनले सुनाए ।

दूध प्रशोधनको वैकल्पिक उपाय मात्रै होइन सानो लगानीमा स्वरोजगार हुने माध्यम बनेपछि डेरी लगानीमा वर्षेनी लगानी बढ्दै गएको छ । दुूध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दा लगानी बढेको हो । पछिल्लो तीन वर्षयता जिल्लामा डेरी उद्योगमा मात्रै वर्षेनी १० करोड रुपैयाँ हाराहारी लगानी थपिदै गएको छ ।

पछिल्लो चार महिनामा मात्रै इलाममा २१ वटा डेरी उद्योग स्थापना भएको घरेलु तथा साना उद्योग शाखा कार्यालयले जनाएको छ । साउन महिनायता थपिएको उद्योगमा मात्रै तीन करोड १५ लाख ७८ हजार रुपैयाँ लगानी भएको छ । ‘अन्तभन्दा यहाँ व्यवसाय गर्नेको संख्या बढ्दो पाइयो’, उद्योग अधिकृत पदम कट्टेल भन्छन्, ‘डेरी उद्योगमा युवाको आकर्षण छ ।’ वैदेशीक रोजगारीबाट फर्किएकाहरुले कुनै न कुनै व्यवसाय गर्न थालेकाले इलाममा डेरी उद्योगमा लगानी बढेको उनी वताउँछन् ।

आर्थिक वर्ष २०७५/०७६ इलाममा ९१ वटा डेरी उद्योग दर्ता भएको छ । ती उद्योगमा ११ करोड २७ लाख १६ हजार रुपैयाँ लगानी भएको घरेलु तथा साना उद्योग शाखामा तथ्याङ्क छ । त्यस्तै २०७४/०७५ मा ८७ वटा डेरी उद्योग स्थापना भएका थिए । ती उद्योगमा ११ करोड ४२ लाख ८८ हजार रुपैयाँ लगानी भएको थियो ।

आव ०७३/०७४ मा सात करोड ३० लाख २२ हजार रुपैयाँको लगानीमा ७५ वटा डेरी उद्योग स्थापना भएको छ । डेरी उद्योगमा डेढ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म लगानी गरिएका छन् । इलाममा हाल पाँच सय ४४ डेरी उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी युवराज घोर्साइले बताए ।

यी डेरी उद्योगमा ५० करोड ३४ लाख ८८ हजार रुपैयाँ लगानी भएको तथ्याङ्क छ । आव २०७४/०७५ यता मात्रै २६ करोड ५१ लाख रुपैयाँ लगानी भएको बताइएको छ । इलाममा सञ्चालित उद्योगले वार्षिक ७८ करोड रुपैयाँको दुग्धजन्य पदार्थ उत्पादन गर्ने गरेका छन् । आव २०७४/०७५ यता खोलिएका उद्योगले मात्रै बार्षिक ४८ करोड ५८ लाख रुपैयाँको उत्पादन गर्ने गरेका छन् ।

इलामको सवैभन्दा बढि देउमाई नगरपालिकामा १०४, सुर्योदय नगरपालिकामा १०१, फाकफोकथुममा गाउँपालिकामा ९०, इलाम नगरपालिकामा ६५, सन्दकपुर गाउँपालिकामा ५८, माइजोगमाई गाउँपालिकामा ५०, माङसेबुङ्ग गाउँपालिकामा १७, रोङ गाउँपालिमामा ९, माई नगरपालिमामा ७ वटा डेरी उद्योग सञ्चालनमा छ भने चुलाचुली गाउँपालिकामा डेरी उद्योग छैन ।