अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको आयोजनामा गरिएको रिफ्रेसमेन्ट तालिमको समापन भएको छ । नगरपालिकाद्वारा मेलमिलापकर्ताका लागि कात्तिक २८ र २९ गते आयोजना गरिएको तालिमको शुक्रबार एक कार्यक्रमका बीच समापन गरिएको हो ।

अर्जुनधारा नगरका कानुनी सल्लाहाकार तथा अधिवक्ता चित्रकुमार मगर, द्वन्द्व रुपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोतव्यक्ति संगीता थापाले सहजीकरण गरेको तालिममा सहभागीमध्येका ११ जनालाई नगरको ११ वटा वडामा मेलमिलाप संयोजक तोकिएको नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आर्चायले जानकारी दिइन् । कार्यक्रममा तोकिएका मेलमिलाप संयोजकलाई स्टेशनरी सामग्रीसमेत वितरण गरिएको थियो ।

उपप्रमुख खतिवडाको अध्यक्षतामा भएको समापन कार्यक्रममा तालिमको प्रमुख अतिथिमा नगर प्रमुख हरिकुमार राना रहेका थिए । कार्यक्रमको औचित्यमाथि नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले प्रकाश पारेका थिए ।

कार्यक्रममा नगर प्रमुख राना, ११ नब्बरका वडाध्यक्ष भैरव खड्का, ५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारतीलगायतले शुभकामना मन्तब्य राखेको कार्यक्रममा कार्यपालिका सदस्य दिलमाया दास, नगरकी प्रवक्ता सकुन्तला बराल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन न्यायिक समितिकी सदस्य सचिव पुष्पा पौडेलले गरेकी थिइन् ।