बुधबारे । युवा पण्डित लक्ष्मी तिम्सिनाद्वारा नेपाली भाषामा अनुवादित श्रीमद् भागवत महापुराण भक्तिरस पुस्तक शनिबार विमोचन गरिएको छ ।

झापा बुद्धशान्ति–१ का युवा पण्डित तिम्सिनाले श्रीमद् भागवत महापुराण भक्तिरस नेपाली भाषा टीका नामक पुस्तक बुद्धशान्ति–१ को ज्येष्ठ नागरिक तथा अपाङ्ग भेटघाट चौतारीको सभाहलमा आयोजना गरिएको कार्यक्रममा विमोचन गरिएको हो ।

धार्मिक व्यक्तित्व पं. बालकृष्ण चापागाईको सभापतित्व तथा पूर्वीय दर्शनका ज्ञाता, धार्मिक व्यक्तित्व टीकाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सो पुस्तक विमोचना गरिएको हो ।

कार्यक्रममा धार्मिक व्यक्तित्व नन्दकुमार तिम्सिनाले पुस्तक र लेखकका बारेमा चर्चा गरेका थिए भने प्रमुख अतिथि भट्टराई, अतिथिहरु बुद्धशान्ति–१ नम्बर वडाका वडा सदस्य टीका धिमाल, पूर्वेली साप्ताहिकका सम्पादक अनिल वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । लेखककी श्रीमती प्रतिक्षा भट्टराई तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन मोहन तिम्सिनाले गरेका थिए । १६२ पृण्ठको सो पुस्तकमा सरल नेपाली भाषाको प्रयोग गरिएको छ ।