इलाम । अन्तु पोखरीमा डुङ्गा सञ्चालनमा रोक लगाइएको छ । सूर्योदय नगरपालिकाले सुरक्षा र आम्दानीको विषय उठाउँदै तत्काललाई डुङ्गा सञ्चालनमा रोक लगाएको हो ।

जसका कारण झुल्केघामको दृष्यावलोकनसँगै हराभरा चियाबारी र पोखरीमा रमाउन पुग्ने सयौं पर्यटकलाई प्रत्यक्ष प्रभाव परेको छ ।

स्थानीयको अपनत्व कायम गर्दै नगरपालिकाले निर्धारण गर्न खोजेको प्रकृयामा छिरेर डुङ्गा सञ्चालन तत्काल गरिनु पर्ने सरोकारवालाले बताएका छन् ।

‘यहाँको पर्यटनको मुख्य आधारका रूपमा पोखरीमा रहेको डुङ्गा सञ्चालनलाई चाँडोभन्दा चाँडो निरन्तरता दिन प्रयासरत छौं’, डुङ्गा सञ्चालन समितिका संयोजक रुद्र घिमिरले भने, ‘नगरपालिकासँग वार्तामा बसेर समाधान निकाल्ने कोसिस गरिरहेका छौं ।’

पाँच वर्षभन्दा अघिदेखि अन्तुपोखरीमा पुगेका पर्यटकलाई डङ्गा सयर गराइँदै आएको थियो ।