पर्वत पोर्तेल,
झापा । दक्षिण झापाको सीमावर्ती गाउँका बासिन्दालाई बर्खामा निकै सास्ती हुन्छ । हिउँदमा पनि सुख छैन । बर्खामा मेचीको भेल उर्लन्छ । मेची पारि भारतीय बजार छ । त्यहाँ किनमेलका जान आउन गाह्रो हुन्छ । हिउँदमा पनि नदी तर्न सकिँदैन । फड्के (बाँसको पुल) तर्नुपर्छ । यसका लागि शुल्क तिर्नुपर्छ ।

‘पैसा नतिरी फड्के तर्नै पाइँदैन’, कचनकवल ५ पाठामारीका शिक्षक विजय हजामले भने, ‘सधै पैसा तिर्दा समस्या हुन्छ ।’ स्थानीयको वारपारको समस्यालाई मध्ये नजर गर्दै कचनकवल गाउँपालिकाले विगतका वर्षदेखि मेची नदीमा निरन्तर फड्के निर्माण गर्दै आएको छ । गाउँपालिकाले यो वर्ष ४ लाख २० हजारमा ठेक्का लगाएको छ । स्थानीय जलाल मिया फड्केका ठेकेदार हुन् ।

जलालका अनुसार गत वर्ष तीन वर्षको ठेक्का रकम एक लाख मात्रै थियो । यो वर्ष एक वर्षकै साढे ४ लाखमा लागेको छ । असारको पहिलो साउनदेखि असारको पहिलो सातासम्म फड्के सञ्चालन हुन्छ । त्यसपछि गाउँपालिकाले डुंगा सञ्चालन गर्ने गरेको छ । पाठामारी प्रहरी चौकीका हवल्दार सुवास यादवका अनुसार फड्के तरेवापत स्थानीयले प्रतिव्यक्ति ५ रुपैयाँ, साइकलसहित १० रुपैयाँ र मोटरसाइकलसहित १५ रुपैयाँ तिर्दै आएका छन् ।

२०७२ मा सुरु गरिएको मेचीपारिको नेपाली गाउँ जोड्ने झोलुंगे पुल ४ वर्षमा पनि बनेको छैन । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले झोलुंगे पुल नहुँदा स्थानीयले सास्ती पाएको बताए । उनका अनुसार शिलान्यास भएको लामो समय बित्दा पनि पुल निर्माण भएको छैन ।

‘दुईतिर दुईटा पिलरका लागि रड राखेको पनि वर्षौं बितिसक्यो’, आलमले भने, ‘त्यसपछि ठेकेदार नै सम्पर्कविहीन छन् ।’ उनका अनुसार पुल निर्माण कम्पनीले गाउँपालिकासँग अहिलेसम्म कुनै समन्वय समेत गरेका छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको करिब २ करोड लागतमा पुल निर्माण सुरु गरेको बताइएको छ । आलमले भने, ‘कसले कति लागतमा पुल बनाउँदैछ हामी बेखवर छौ ।’ कान्तिपुरबाट