सुजता सुनुवार,
इलाम । इलामका डेरी उद्योगमा पछिल्लो समय युवाको आकर्षण बढ्दै गएको छ । थोरै लागनीमा गाउँमा नै स्वरोजगार बन्न सकिने भएकाले डेरी उद्योगमा युवाको आकर्षण बढेसँगै बर्सेनि लगानी पनि थपिँदै गएको हो ।

घरेलु तथा साना उद्योग शाखा कार्यालय इलामको तथ्याङ्कअनुसार डेरी उद्योगमा मात्रै बर्सेनि ११ करोड रुपैयाँभन्दा बढी लगानी थपिएको छ । कार्यालयका सूचना अधिकारी युवराज घोर्साइले पछिल्लो चार महिनामा इलाममा २१ वटा डेरी उद्योग स्थापना भएका छन् ।

गएको साउन महिनायता थपिएको उद्योगमा मात्रै तीन करोड १५ लाख ७८ हजार रुपैयाँ लगानी भएको छ । स्थानीयस्तरमा उत्पादन गरेको छुर्पी अमेरिका निर्यात हुन्छ । घिउ भने नेपाली बजारमा नै बिक्री हुँदै आएकाले बजारमा समस्या छैन ।

बजारमा सहज भएकाले अधिकांश वैदेशिक रोजगारीबाट फर्किएकाहरुले डेरी उद्योगको व्यवसाय गर्न थालेको अधिकारी घोर्साइको भनाइ छ । पछिल्लो समय यही कारणले उद्योगमा लगानी थपिँदै गएको उहाँले बताउनुभयो ।

आर्थिक वर्ष २०७५/०७६ मा मात्रै इलाममा ९१ वटा डेरी उद्योग दर्ता भएका छन् । ती उद्योगमा ११ करोड २७ लाख १६ हजार रुपैयाँ लगानी भएको छ । एउटा डेरी उद्योगमा डेढ लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म लगानी गरिएको पाइएको छ ।

इलाममा अहिले पाँच सय ४४ डेरी उद्योग सञ्चालनमा रहेका छन् । यी डेरी उद्योगमा ५० करोड ३४ लाख ८८ हजार रुपैयाँ लगानी भएको छ । उज्यालो अनलाइनबाट