झापा । स्थानीय उपभोक्ताको गुनासो आएपछि शिवसताक्षी नगरपालिकाले शिगञ्ज बजारकोे मासु पसलमा आइतबार छड्के अनुगमन गरेको छ ।

नगरको उपभोक्ता हित संरक्षण समिति र बजार अनुगमनको संयुक्त समितिले मासु बजारको अनुगमन गरेको हो । स्थानीय उपभोक्ताले मासु बजारमा प्रयोग हुने परम्परागत तराजु, गुणस्तर र मूल्यमा एकरुपता नभएको भन्दै नगरमा गुनासो गरेपछि समितिले छड्के अनुगमन गरेको हो ।

अनुगमन समितिले परम्परागत तराजु व्यवसायीले प्रयोग गरेको पाइएकोले तत्काल हटाएर डिजिटल काँटा प्रयोग गर्न सातदिने अल्टिमेटम दिएको छ । यस्तै नगर र वडा कार्यालयमा दर्ता बिनै सञ्चालन भएका मासु पसललाई ३ दिनभित्र दर्ता गरी नगरमा सूचीकृत गर्न पनि व्यवसायीलाई समितिले अनुरोध गरेको छ ।

अव्यवस्थित र खुल्लारुपमा रहेको मासु बजारलाई व्यवस्थित गर्न र नियमन गर्न नगरले कार्यविधि नै बनाएको छ । शिवसताक्षी नगरमा अब खुल्ला पशुवध गरे नियमअनुसार मासु व्यवसायीलाई कार्बाही गरिने अनुगमन समितिले जनाएको छ । यस्तै मासुकै मूल्यमा आन्द्रा, रगत, कलेजो फोक्सो, खुट्टा लगायतका अंग बिक्री भइरहेकोले समितिले अलग अलग मूल्यमा बिक्री गर्न व्यवसायीलाई सुझाएको छ ।

यसैबीच शिवगञ्जको एउटै बजारमा ब्रोइलर कुखुराको मूल्य फरक फरक भएको अनुगमन समितिले फेला पारेको छ । स्थानीय चन्द्रा मासु पसल र रेखा कुखुरा फ्रेस हाउसमा मूल्य फरक फरक पाइएको टोलीमा सहभागी शिवसताक्षी नगरका कर्मचारी बिमल बाँस्कोटाले बताए । रेखाका सञ्चालक बचनलाल ताजपुरियाले प्रतिकेजी ३०० मा बिक्री गरिरहेका छन् । तर, सीता फ्रेस हाउसकी सञ्चालिका सीता ताजपुरिया र चन्द्रा ताजपुरियाले प्रतिकिेजी २८० रुपैयाँमा बिक्री गरेको पाइएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष मनोज खुलाल कार्कीले बढी मूल्य लिएर उपभोक्ता ठगी गर्ने व्यवसायीलाई कार्बाहीको दायरामा ल्याइने बताए । साविकको शिवगञ्ज वाणिज्य संघका पूर्व अध्यक्ष वीरेन्द्र यादवले तत्काल मूल्य समाजयोजन गर्ने सर्तमा व्यवसायीलाई अनुगमन समितिले चेतावनीसहित छाडिदिएको छ ।

आइतबारको अनुमगन प्रकाश रंजितकारको नेतृत्वमा बिमल बाँस्कोटा, रामअवतार यादव, बाणिज्य संघ शिवसताक्षीका पूर्व अध्यक्ष वीरेन्द्र यादव, इलाका प्रहरी कार्यलय शिवगञ्जको प्रहरी टोली र स्थानीय पत्रकारको सहभागिता थियो ।

समितिले माछा पसलको पनि अनुगमन गरको थियो । भारतीय मत्स्य पोखरीमा उत्पादन भएका माछा शिवगञ्ज बजारमा छ्याप्छ्याप्ती पाइएको थियो । केही व्यापारीले बेच्न राखेको माछा सडिएको अवस्थामा समेत फेला परेको थियो ।