पाँचथर । पाँचथरको एक सहकारी संस्थाले व्यावसायिक पशुपालन गर्ने कृषकलाई घरैमा पुगेर उन्नत जातका पशु खरिदका लागि रकम उपलब्ध गराएको छ ।

व्यावसायिक पशुपालनका लागि उद्यमशिलता विकाससम्बन्धी तालीम लिएका कृषकलाई पशु खरिदका लागि नगदका अतिरिक्त उक्त सहकारीले प्राविधिक ज्ञान र पशुको उपचारमा सहयोगसमेत प्रदान गर्दै आएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रहेको फिक्चुखोला कृषि सहकारी संस्थाले उक्त गाउँपालिकाको वडा नं १, २, ३ र ४ का ७० जना कृषकको घर दैलोमै पुगेर व्यावसायिक पशुपालनका लागि सरल ब्याजदरमा घुम्ती कोषको कर्जा उपलब्ध गराएको हो । सहकारीले प्रत्येक कृषकलाई उन्नत प्रजातिको गाई वा भैँसी खरिदका लागि रु ४० हजारका दरले घुम्ती कोष वितरण गरेको हो । उक्त सहकारीले फाल्गुनन्दको वडा नं १ का २१ जना, वडा नं २ का नौ जना, वडा नं ३ र ४ का २०/२० जना कृषकलाई उक्त घुम्ती कोष उपलब्ध गराएको छ ।

सहकारीले वडामै कार्यक्रमको आयोजना गरी कृषकलाई घुम्ती कोषको रकमको चेक उपलब्ध गराएको हो । दूध तथा दूग्धजन्य सामग्री उत्पादनमा सहयोग गरी कृषकको आयस्तर उकास्ने उद्देश्यले उक्त सहकारीले घुम्ती कोष परिचालन गरी ऋण लगानी गरेको हो । सहकारीले व्यावसायिक पशुपालनका लागि कृषकलाई प्राविधिक सहयोग र पशु बीमाका लागिसमेत सहयोग गरेको छ । अन्तर्राष्ट्रिय दातृ संस्था गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा घुम्ती कोष परिचालनमा ल्याइएको फिक्चुखोला कृषि सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले जानकारी दिनुभयो ।

परम्परागत पशुपालन गर्दै आएका कृषकलाई उन्नत प्रजातिका गाईभैँसी खरिद गरी व्यावसायिक रुपमा दूध उत्पादनमा केन्द्रित गर्दै आर्थिकस्तर उकास्ने उद्देश्यले उक्त सहकारीले पशुपालनका लागि घुम्ती कोष कर्जा उपलब्ध गराएको अध्यक्ष नेम्वाङको भनाइ छ । कृषकले कर्जाको प्रत्येक महिना ब्याज र प्रत्येक तीन महिनामा घुम्ती कोष वापतको किस्ता रकम फिर्ता गर्नुपर्नेछ । उन्नत प्रजातिका पशुपालन गर्ने कृषकले दूध बिक्रीबाट नै उक्त कर्जा फिर्ता गर्न सक्ने अध्यक्ष नेम्वाङको भनाइ छ ।

यस अतिरिक्त उन्नत प्रजातिको पशु खरिद गर्ने, भकारो सुधार गर्ने र पशुको बीमा गर्ने कृषकलाई सहकारीले रु १० हजार प्रोत्साहन रकमसमेत उपलब्ध गराउने भएको छ । “प्रोत्साहन रकम प्राप्त गर्न उन्नत प्रजातिको गाईभैँसी खरिद गरेकै हुनुपर्छ”, सहकारीका अध्यक्ष नेम्वाङले भन्नुभयो, “हामीले घुम्ती कोष परिचालन गरेका सबै वस्तीमा कति दूध उत्पादन भई बिक्री भइरहेछ भनेर तथ्याङ्क तयार पारिसकेका छौँ । कृषकले दूध उत्पादनमा वृद्धि गरे नगरेको भोलिका दिन तयार हुने तथ्याङ्कले देखाउछ ।”

कृषकले व्यावसायिक पशुपालनलाई अघि बढाएपछि सहकारीले दूध तथा दूग्धजन्य पदार्थ सङ्कलन, ढुवानी र उद्योग स्थापनाका लागि लगानी गर्ने कृषकमाँझ प्रतिबद्धतासमेत गरेको छ । यसका लागि दातृ संस्थासँग सहकार्यका लागि सम्झौतासमेत भइसकेको सहकारीका अध्यक्ष नेम्वाङले जानकारी दिनुभयो ।

उक्त सहकारीले हालसम्म गुड नेवर्स इन्टरनेशनलको सहयोगमा रोजगारी सिर्जना तथा मूल्य श्रृङ्खला विकास परियोजना सञ्चालन गर्दै आएको थियो । पछिल्लो पटक वेल्जियमको किङ वाउण्डिङ फाउण्डेसनसँग लागत साझेदारीमा दूग्ध मूल्य श्रृङ्खला विकास परियोजना कार्यान्वयनमा ल्याउन लागेको छ । उक्त परियोजनाले दूध उत्पादनदेखि बजार सुनिश्चिततासम्म सहयोग पु¥याउनेछ । यसमा सहकारी संस्था, स्थानीय तह र दातृ निकायको लागत सहभागिता रहनेछ । जसअनुसार सहकारी संस्थाले कूल लागतको २० प्रतिशत, स्थानीय तहले १० प्रतिशत, गुड नेवर्स इन्टरनेशनलले ३० प्रतिशत र किङ वाउण्डिङ फाउण्डेसनले ४० प्रतिशत लगानी गर्ने निश्चित भएको उक्त सहकारीका सचिव राजेन्द्र आङ्देम्बेले जानकारी दिनुभयो ।

फिक्चुखोला कृषि सहकारीले विगत दुई वर्षदेखि व्यावसायिक पशुपालनमा सहयोग पु¥याउँदै आएको छ । उसअघि उक्त सहकारीले फाल्गुनन्द गाउँपालिका वडा नं। २ का ५४ कृषकलाई उन्नत गाईपालनमा तथा ६८ जना कृषकलाई उन्नत बङ्गुर पालनमा लगानी गरिसकेको छ । गाईपालक कृषकले रु ५८ हजार ८०० का दरले घुम्ती कोष तथा रु २५ हजार २०० का दरले अनुदान प्राप्त गरेका थिए ।

यस्तै बङ्गुर पालक कृषकले रु १० हजार ७०० देखि रु ४१ हजारसम्म घुम्ती कोष र रु ४ हजार ४०० देखि रु १७ हजारसम्म अनुदान प्राप्त गरेको उक्त सहकारीले जनाएको छ । जिल्लामै पहिलो पटक व्यावसायिक पशुपालनका लागि सरल ब्याजदरमा घुम्ती कोष, अनुदान र प्राविधिक सहयोग प्राप्त गरेको भन्दै कृषकले खुसी व्यक्त गरेका छन् । फाल्गुनन्द गाउँपालिका–१ मा डेरी उद्योग सञ्चालन गर्दै आएका दिलकुमार आङ्देम्बेले एउटा सहकारीले कृषकलाई व्यावसायिक बनाउन ऋणदेखि प्राविधिक सहयोगसम्म उपलब्ध गराउनु महत्वपूर्ण रहेको बताउँदै कृषकले प्राप्त अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । “सबैले परम्परागत रुपमा पशुपालन गर्दै आएका थियौँ । तर, सहकारीले उन्नत गाईभेँसी खरिदमा गरेको सहयोगलाई आधार मानेर सबै कृषकले व्यावसायिक पशुपालनतर्फ अघि बढ्नुपर्छ”, आङ्देम्बेले भन्नुभयो । उत्पादित दूध बिक्री हुने निश्चित रहेकाले गुणस्तरीय दूध उत्पादनमा कृषकले जोड दिनुपर्ने उहाँको भनाइ छ ।

डेरी उद्योग सञ्चालक खगेन्द्र मिश्र पाँचथरका विभिन्न गाउँमा उत्पादन हुने दूधले बजार नपाउने चिन्ता नरहेको बताउनुहुन्छ । “हाम्रो डेरीले अझै एक हजार ५०० लिटरसम्म दूध खरिद गर्न सक्छ । गाउँदेखि सहरसम्म रहेका डेरी उद्योग र दूग्ध विकास संस्थानका चिज उत्पादन केन्द्रले थप दूध खरिद गर्न सक्छन्”, मिश्रले भन्नुभयो “व्यावसायिक पशुपालनमा भएको यस प्रकारको सहयोगले दूध उत्पादन त बढ्छ नै, कृषकको आयस्तर उकास्न ठूलो सघाउ पुग्छ ।”

उक्त सहकारीले आर्थिक सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय दातृ निकाय गुड नेवर्स इन्टरनेशनलका प्रदेश नं १ प्रमुख कृष्णराज जोशीले कृषकले व्यावसायिक पशुपालन र ठूलो परिमाणमा दूध उत्पादन गर्नसके आफ्नो संस्थाले दूग्धजन्य उद्योग स्थापनामा समेत थप लगानी गर्नसक्ने वताउनुभयो । घुम्ती कोषको सदुपयोग हुनसके घुम्ती कोष वृद्धि गर्न सकिने जनाउँदै उहाँले पशुपालनलाई व्यावसायिक बनाउन कृषकलाई आग्रह गर्नुभयो ।रासस