झापा । बिर्तामोडको शिखर वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका लागि सुखद योजना ल्याएको छ । शनिबार विर्तामोडमा एक कार्यक्रम आयोजना गरी शिखर साकोसले क्युआर भुक्तानी प्रणालीको शुभारम्भ गरेको हाे ।

सहकारीमा प्रविधिको भरपूर उपयोग गर्ने जिल्लाका सहकारीहरुमध्ये अग्रपंक्तिमा आउने शिखर साकोसले सदस्यहरुको सुविधालाई ध्यानमा राखी नयाँ मोवाइल्स एप्स सञ्चालनमा ल्याएको हो । शिखरले क्युआर भुक्तानी कार्यक्रम सञ्चालनमा ल्याएको हो । काठमाडौंको हाम्रो टेक्नोलोजी प्रालिसँगको सहकार्यमा क्युआर भुक्तानी कार्यक्रम सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

यसअघि नै एसएमएस बैंकिङ, एप्सको माध्यमबाट मोवाइल रिचार्ज, विद्युत, टेलिफोनलगायतको बील भुक्तानी सुविधा सञ्चालन गर्दै आएको शिखरले अब अन्य वस्तु वा सेवा खरिद गर्दा पनि गोजीमा नगद भइरहनु नपर्ने सुविधा शुरु गरिएको अध्यक्ष राउतले बताए ।

आफूसँग स्मार्टफोन भए र शिखरमा आफ्नो खातामा वचत रकम भए क्युआर भुक्तानी प्रणालीबाट खरिद बिक्री वा खानेकुरा उपभोग गर्नसक्ने राउतको भनाइ छ ।

त्यहाँ कम्पनीका सञ्जय महासेठले क्युआर भुक्तानी प्रणालीका बारे जानकारी गराएका थिए । संस्थाका अध्यक्ष राउतले आफ्ना सदस्यहरुलाई यो प्रणालीमा प्रविष्ट हुन आग्रह गरेका छन् ।

संस्थाका व्यवस्थापक लीलाराज रेग्मीले संस्थाले स्थापनाकालदेखि नै सदस्यको सर्वोपरि हितका लागि कामहरु गर्दै आएको उल्लेख गरे । अब सबै नेपाली प्रविधिसँग जोडिनुपर्ने बाध्यता भइसकेको भन्दै उनले आफ्ना सदस्यहरुलाई यस बारे प्रशिक्षित गराइरहेको बताए ।

पछिल्लो संस्थागत विवरण अनुसार संथामा ८ हजार ९६ सदस्य आबद्ध भइसकेका छन् भने संस्थाको शेयरपूँजी ४ करोड ८७ लाख, ५० करोड ३ लाख निक्षेप र ५१ करोड ७६ लाख लगानी रहेको अवस्था रहेको उनले जानकारी दिए ।