झापा। पश्चिम नेपालमा व्यावसायिक रुपमा हुँदै आएको ड्रागन फल खेती पूर्बमा पनि शुरु गरिएको छ ।

बुद्धशान्ति गाउँपालिका–२ जयपुरका कृषक खगेन्द्र उप्रेतीले ड्रागन फल खेती शुरु गरेका हुन् । उनले सुपारी बगानभित्र यसको खेती गरेका छन् ।

सुपारी बगानभित्रै अलैँचीको समेत व्यावसायिक खेती गर्दै आएका उप्रेतीले विगत तीन वर्षदेखि ड्रागन खेती गर्दै आएका हुन् । ड्रागन ‘क्याक्टस’ अर्थात् सिउँडी प्रजातिमा पर्ने वनस्पति हो । यसलाई ‘रातकी रानी’ उपनामले समेत चिन्ने गरिन्छ ।

ड्रागन एक प्रकारको फल हो । गर्मी ठाउँमा खेती गर्न सकिने ड्रागन फलमा १२ प्रकारका खनिज तथा भिटामिन पाइन्छ । औषधीय गुणले भरिपूर्ण हुने यो फललाई गमला, छत तथा करेसाबारीमा लगाउन सकिने उप्रेतीले बताए ।

राति मात्रै फुल्ने र फल लाग्ने भएकाले यसलाई रातकी रानी भनिने गरेको उप्रेतीको भनाइ छ । फूल फुलेको ४५ दिनसम्ममा फल तयार हुने उप्रेतीले बताए । एउटा फल एकदेखि डेढ केजीसम्मको हुने गरेको बताइएको छ ।

उप्रेतीले तीन वर्ष अघि लगाएका विरुवाले अहिले फल दिन शुरु गरेको छ । एउटै बोटमा यो वर्ष ड्रागन फल सात आठ केजीसम्म फल्यो– उप्रेतीले भने– ड्रागनको खेती गर्दा मनग्ये आम्दानी हुने रहेछ । एउटै बोटमा ५०÷६० केजीसम्म फल लाग्ने बताउँदै उप्रेतीले भने– ‘राम्रो मलजल पुग्यो भने एउटै बोटले २० वर्षसम्म फल दिन्छ ।’

आफूले उत्पादन गरेको ड्रागन स्थानीय बजारमै बिक्री हुने गरेको उनले बताए । यस वर्ष खेती विस्तारका लागि आफूले विरुवा समेत उत्पादन गरेको भन्दै उप्रेतीले यो वर्ष एक हजार रुपैयाँ प्रति केजी ड्रागन बिक्री गरेको जनाए ।

ड्रागन फल दक्षिण अमेरिकाको रैथाने फल हो । यो फलको खेती थाइल्याण्ड, भियतनाम, मलेसिया, इण्डोनेसियामा धेरै हुने गरेको बताइन्छ ।