विराटनगर । झापा र मोरङका विभिन्न शिविरमा बस्ने शरणार्थीमध्ये अधिकांश पुनस्र्थापना कार्यक्रमअन्तर्गत तेस्रो मुलुक पुगे पनि छुटेकाहरु भने बिचल्लीमा परेका छन् ।

जसमध्ये पनि एकल महिला, वृद्धवद्धा र सहाराविहीन बालबालिकालाई रोजीरोटी जुटाउन समस्या भइरहेको छ । दातृ निकायले उपलब्ध गराउँदै आएको खाद्यान्न र लत्ताकपडालगायतका आवश्यक सामग्री दिन छाडेपछि पुनर्वासमा छुटेका शरणार्थी मारमा परेका छन् ।

६० वर्षीया हर्कमाया राई मोरङ पथरी शानिश्चरे भुटानी शरणार्थी शिविरमा बस्दै आएकी छिन् । उनलाई अहिले दुई छाक टार्न पनि अरुकै भर पर्नुपर्ने अवस्था छ ।

एकल महिला भएका कारण रोजगारी जुटाउन समस्या परेपछि बुढेसकालमा खान र लाउनका लागि आफन्त र छिमेकीको भर पर्नुपर्ने अबस्था आएको उनको गुनासो छ ।

हर्कमाया राई जस्तै झापा र मोरङका सात शिविरमा रहेका अधिकांशमा शरणार्थीको अवस्था करिब उस्तै उस्तै छ ।

राष्ट्र संघीय शरणार्थी आयोगमार्फत पुनस्र्थापना कार्यक्रमअन्तर्गत एक लाखभन्दा बढी शरणार्थी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रममा गइसकेपछि उनीहरु स्वदेश फिर्तीकै माग राखेर बसिरहेका छन् ।

शिविरमा अधिकांश वृद्धवृद्धा, अशक्त र अपांगका साथै बालवालिका रहेकाले उनीहरुको अवस्था निकै कारुणिक रहेको पथरी शरणार्थी शिविरकी संयोजक अमृता नेपालको भनाइ छ ।

सहाराविहीन भएकाहरुलाई पनि छाप्रा निर्माणलगायतका काममा समेत आफैं खटिर्नुपर्ने अवस्था छ । भुटानी शरणार्थी तेस्रो मुलुक गएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेको छ ।

यूएचसीआरले वृद्धवृद्धा, अशक्त र अपांग तथा एकल महिलाका लागि भने तीन-तीन महिनामा सामान्य घर खर्चका लागि उनीहरूको बैक खातामा केही रकम पठाइदिने गरेको छ । तर शिविरमा बस्दै आएका अधिकांशलाई खान लगाउनमै पिरोलिनुपरेको छ ।

भुटानी शरणार्थी शिविरमा चार महिनादेखि खानेपानीको समस्या समेत रहदै आएको छ । यूएनएचसीआरका अनुसार अहिले मोरङको शनिश्चरे र झापाको बेल्डाँगी शिविरमा गरी १२ हजार ६ सय १४ भुटानी शरणार्थी शिविमा बस्दै आएका छन् ।