भद्रपुर । प्रदेश नम्बर १ को सरकारले लेखा व्यवस्था, खर्च प्रणाली र आन्तरिक लेखापरीक्षणलाई व्यवस्थित गर्ने उद्देश्यले झापामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गरेको छ ।

चन्द्रगढीमा स्थापना गरिएको कार्यालयको मंगलबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले उद्घाटन गरेका छन् । झापामा १७ वटा प्रदेश सरकारको कार्यालय र जिल्लाका १५ स्थानीय तहलाई प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकम समेत प्रदान गर्ने जिम्मेवारीसहित कार्यालय स्थापना गरिएको उनले बताए ।

प्रदेश सरकारले बनाएको आर्थिक कार्यविधि नियामावलीमा नयाँ सर्वेक्षण अनुसार १३ वटै जिल्लामा प्रदेश इकाई कार्यालय स्थापना गर्ने उल्लेख गरेबमोजिम प्रदेशका पाँच जिल्ला झापा, पाँचथर, उदयपुर, धनकुटा र ओखलढुंगामा यही माघ २ गतेदेखि कार्यालयहरु सञ्चालन गरिएको बताए ।

उनले प्रदेश सरकारको बजेट, अनुदान कार्यान्वयनमा सहजीकरण गर्ने, अनुशासन र पारदर्शीतालाई सही ढंगको रिर्पोटिङ प्रणालीलाई व्यवस्थित गर्नका निम्ति प्रदेश लेखा इकाई कार्यालयको आवश्यकता महसूस गरी कार्यालय स्थापना गरेको बताए ।

कार्यक्रममा प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख डम्बरबहादुर कार्की, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, प्रदेश सांसद पूर्णसिंह राजवंशी, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलगायतले वित्तीय सुशासन कायम गर्न यो कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

चन्द्रगढीस्थित मुकुन्द जोशीको घरको छ कोठा भाडामा लिएर सञ्चालन भएको प्रदेश लेखा इकाई कार्यालयलाई खाली रहेको सरकारी कार्यालय भवनको अनुगमन गरी त्यसैबाट सेवा प्रदान गर्न कार्यालय प्रमुख डिल्लाप्रसाद सञ्जेललाई मन्त्री आङ्बोले निर्देशन दिए ।