एजेन्सी । कुवेतमा बालुवाको ढिस्कोले पुरिएर ६ जना नेपालीको मृत्यु भएको छ ।

नेपाली दूतावासका अनुसार, पाल्पाका एक बहादुर गाहा, सिरहाका गंगाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरीको मृत्यु भएको हो । मृत्यु हुनेमा थप दुई जनाको पहिचान हुन हुन सकेको छैन ।

ढिस्कोले पुरिएर धर्मेन्द्रकुमार साह र मनोरथ मण्डल घाइते भएका छन् । घाइते मध्ये साहको कुवेतको जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचार पश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।

उनीहरु कुवेतको ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाको दुरीमा छ । रासस