बिर्तामोड । बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीको शल्यक्रिया सुरु भएको छ । बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा सोमवार मध्यान्हदेखि नगर प्रमुख सिवाकोटीको शल्यक्रिया सुरु गरिएको हो । ढाडको नशा चेपिएर गर्धनसम्म आएपछि उनी आइतवार अस्पताल भर्ना भएका थिए ।

आवश्यक सबै जाँचपछि सिवाकोटीको अपरेशन सुरु गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । सिवाकोटीको अपरेशनमा १० सदस्यीय चिकित्सक टोली खटिएको छ । टोलीमा डा. पंकज नेपाल, डा. निराजन पराजुली, डा. दिनेश थापा, डा. राज श्रेष्ठ र डा. लक्ष्मण ठाकुरलगायत सहभागी रहेको जनसम्पर्क अधिकारी गिरीले बताए ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नगरक्षेत्रको व्यवस्थापकीय जिम्मेवारीमा नगर प्रमुख सिवाकोटी डेढ महिनादेखि दौडधुपमा थिए । अचानक ढाड र गर्धन दुख्ने भएपछि उनी अस्पताल भर्ना भएका हुन् । चिकित्सकले अपरेशन गर्न सुझाव दिएपछि उनी शल्यक्रियाका लागि तयार भएका हुन् ।