झापा । अर्जुनधारा नगरपालिकाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । छातीमा समस्या भएका ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
छातीमा समस्या भएपछि स्थानीय शंकर हस्पिटलमा ६ दिनसम्म उपचार गर्दा निको नभए पनि उनलाई धरान रेफर गरिएको थियो । असोज २३ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएका ती व्यक्तिको स्वाब संकलन गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
हिजो शनिबार साँझ रिपोर्ट आएपछि शंकर हस्पिटललाई डिस्इन्फेन्टेन्ट गर्न सुझाव दिइएको अर्जुनधारा नगर स्वास्थ्य कार्यालयले जानकारी दिइसकेको छ । स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतका अनुसार कम्तिमा पाँच दिनसम्म हस्पिटल सिल गर्न सुझाव दिइएको छ ।
हिजोमात्र अर्जुनधारा ८ की ३८ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनले विराटनगरको विराट मेडिकल कलेजमा स्वाब संकलन गराएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।