बिर्तामोड । झापामा कोरोना भाइरसको संक्रमणबाट सक्रिय संक्रमितको संख्या २ हजार ३४५ पुगेको छ । उनीहरु सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसन र होम आइशोलेसनमा उपचाररत रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार सक्रिय संक्रमित भएकामध्ये विभिन्न आइशोलेसनमा उपचाररतको संख्या १ हजार १७८ रहेको छ । त्यस्तै, सक्रिय संक्रमित भएका तर होम आइशोलेसनमा १ हजार १६७ जना उपचाररत छन् ।
यसैबीच, शुक्रबार झापाका २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र झापाका ९ महिला र १७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ३६ जना पुगेको छ । कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ७४३ रहेको छ ।
शुक्रबार पुष्टि भएकाहरुमा दमकका २ महिला र ३ पुरुष, बिर्तामोडका ४ महिला, शिवसताक्षी र झापा गाउँपालिकाका १-१ महिला र ३-३ जना पुरुष, मेचीनगर र बुद्धशान्ति गाउँपालिकाका ३-३ जना पुरुषमा संक्रमण भएको हो ।
स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका १ महिला र १ पुरुष तथा पालिका नखुलेका एक जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । आजै मेचीनगर ८ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।