झापा । झापामा जिल्ला कारागारमा रहेका कैदी बन्दी र आश्रममा रहेका बृद्धबृद्धालाई कोरोनाविरुद्धको खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
खोप कार्यक्रमको तीन दिन बाँकी रहेकोले अब कैेदीबन्दी र बृद्धबृद्धालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले बताउनुभयो । उहाँले कारागारमा कार्यरत सुरक्षाकर्मी र छुटेका निजी अस्पतालका स्वास्थ्यकर्मीलाई पनि खोप दिइने जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय झापाले आइतबार पाँचौँ दिनसम्ममा २ हजार पाँच सय ८१ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको जनाएको छ । झापामा मेची अस्पताल, अनारमनी नगर अस्पताल र दमक अस्पतालबाट खोप लगाउने काम भइरहेको छ ।
जिल्लामा पहिलो दिन ५३५ जना, दोस्रो दिन ५५८ जना, तेस्रो दिन ४४१ जना, चौथो दिन २२४ जना र पाँचौँ दिन आइतबार ८२३ जनाले खोप लगाइसकेका छन् ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइ कर्मचारी, शव वाहनका चालकलाई खोप लगाइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पहिलो दिन नै खोप लगाउनु भएका फोकल पर्सन चौलगाईले हालसम्म खोपले कसैलाई नकारात्मक असर नगरेको जानकारी दिँदै खोप सुरक्षित रहेको बताउनुभयो ।