झापा । कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको कोभिशिल्ड खोप प्राथमिकतामा परेका ज्येष्ठ नागरिकलाई दिने अभियान चलिरहेको छ ।

आइतबारबाट सुरु भएको दोस्रो चरणको खोप अभियानमा ५ दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने कार्यक्रम रहेको थियो ।

यसक्रममा झापाको अर्जुनधारा नगरपालिका क्षेत्रका २ हजारभन्दा बढीले कोभिशिल्ड खोप लगाएका छन् । यो तथ्यांक बुधबार साँझसम्मको हो । अर्जुनधाराका तीन क्षेत्रबाट खोप लगाउने कार्यक्रम चलेको थियो ।

शनिश्चरेको पाँच केन्द्र, खुदुनाबारी पाँच केन्द्र र अर्जुनधाराका पाँच केन्द्रबाट खोप लगाइँदै आएको थियो । बुधबारसम्मको तथ्यांकअनुसार २०७९ जनाले खोप लगाएको शनिश्चरे अस्पतालका सिनियर अहेव डम्बर मिश्रले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी शनिश्चरेमा ८०४ जना, अर्जुनधारामा ६७५ जना र खुदुनाबारी क्षेत्रमा ६०० जनाले खोप लगाएका छन् । खोप लगाउन छुटेको खण्डमा शुक्रबार शनिश्चरे अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको सिनियर अहेव मिश्रले जानकारी दिए ।

नगरका वडामध्ये ८, १० र ११ नम्बर वडामा सबैभन्दा कम र सबैभन्दा बढी ६ र ९ नम्बर वडामा खोप लगाइएको बताइएको छ ।

६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाएको १० दिनपछि चैत ४ गतेबाट ५५ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कार्यक्रम सञ्चालन हुनेछ ।