बिर्तामोड । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधि वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन आज झापामा पत्रकारसँग अन्तरक्रिया गरिएको छ ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा बिर्तामोडमा सम्पन्न अन्तरक्रियामा हात्तीपाइले रोग निवारणका लागि सरकारले अघि सारेको कार्ययोजना सार्थक बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताइयो ।
हात्तीपाइले रोग परजीबी जुकाबाट हुने र लामखुट्टेको टोकाईबाट सर्ने र मानिसलाई कहिल्यै निको नहुने गरी असक्त, अपाङ्ग बनाउने सरुवा रोग भएकाले आम औषधि वितरण अभियान थालिएको हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईले बताए ।
झापामा आम औषधि वितरण अभियान चैत २० बाट चैत मसान्तसम्म चल्ने उनले बताए । औषधी वितरण जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकाका सबै वडाहरु, स्वास्थ्य संस्थाहरु तथा टोलटोलमा संचालन हुने जनाइएको छ ।
२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला तथा ७ दिनसम्मका सुत्केरी र ओछ्यान परेका सिकिस्त बिरामीहरु बाहेक सबै व्यक्तिलाई औषधी खुवाउन स्वास्थ्यकर्मीहरु घरघरमा आउने कार्यक्रम रहेको फोकल पर्सन चौलागाईले बताए ।
उनका अनुसार जिल्लाभरका ८ लाख ४ हजार ९७ जनालाई ६०० जना तालिप्राप्त स्वास्थ्यकर्मी तथा ६०० जना महिला स्वयंसेविकाद्वारा औषधि खुवाइने कार्यक्रम रहेको छ ।
जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गतवर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका ११० गरी ५५४ जना रहेको बताउनुभयो ।
नौ लाख ३४ हजार ७०० जनसङ्ख्या रहेको जिल्लामा यसवर्ष ६०० स्वास्थ्यकर्मी र ६०० स्वयंसेवक परिचालन गरी आठ लाख १६ हजार ५०० जनालाई औषधि खुवाउने लक्ष्य लिइएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापा र मोरङमा मात्र औषधि पुनः खुवाइने भएको छ । अन्य जिल्लामा भने हात्तीपाइले रोग निवारण भइसकेको बताइएको छ ।
स्वास्थ्य कार्यालयले आगामी दुई वर्षभित्रमा हात्तीपाइले रोग निवारण जिल्लाका रूपमा झापालाई घोषणा गर्ने लक्ष्य रहेको बताउँदै सबैलाई औषधि सेवनका लागि आग्रह गरिएको छ । सबैलाई ‘औषधि एकपटक वरदान हो, नखाए सधैँको लागि अभिशाप हुन्छ’ भन्ने नाराका साथ अभियानलाई सफल पार्नका लागि विद्यालय, कार्यालय, इँटाभट्टा तथा चियाबगान, सेना, सशस्त्र तथा प्रहरी क्याम्प, शहरबजार बस्ने मानिसलाई नछुटाइने कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका ५० हजार सिकिस्त बिरामी, ३८ हजार २९० दुई वर्षमुनिका बालबालिका र ३० हजार गर्भवती तथा सुत्केरी महिलालाई भने यस रोगको औषधि सेवन नगराइने बताइएको छ ।