ताप्लेजुङ । विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिचको टकरावका कारण ताप्लेजुङको एक निर्माणाधीन विद्यालय भवन अलपत्र बनेको छ । पाँच बर्ष अघि निर्माण थालिएको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिन स्थित परमसिङदेवी माविको भवन अलपत्र बनेको हो ।

तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमले विद्यालयले चार कोठाको दुई तले भवन निर्माण शुरु गरेको भएपनि रकम अभावका कारण सम्पन्न गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन पोमु लिम्बुले बताए ।

विद्यालयलाई शिक्षा कार्यालयबाट छुट्याइएको ३६ लाख मध्ये करिब २० लाख रकम निकासा भएको र बाकी रकम निकासा नहुदै राज्य पुनर्संरचनामा गए पश्चात शिक्षा कार्यालयको अस्तित्व सकिएको र गाउँपालिकाले बाकी रकम फिर्ता गरिदिएको उनको भनाई छ । गाउँपालिकाले चाहेको भए बाकी रकम फिर्ता नपठाइ विद्यालयको खातामा रोक्का राखी काम सम्पन्न भएपश्चात फुक्का गर्न सक्ने लिम्बुको भनाई छ ।

यता शिक्षा कार्यालयले तोकेको समयमा भवन निर्माण सम्पन्न गर्न नसकेको र रकम बेरुजु देखिने भन्दै अधिकृतहरूले बाकी रकम फिर्ता पठाएको गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले बताए । निकासा भएको रकमबाट विद्यालयले दुई तलाको छत ढलान सकेको छ भने बाकी काम अलपत्र छन् ।

राज्यले लगानी गरिसकेको संरचनालाई गाउँपालिकाले पूर्णता दिन किन नसकेको भन्ने जिज्ञासामा पालिका अध्यक्ष सिटौलाले शिक्षाले दिएको रकममा गाउँपालिकाले बजेट दिन नमिल्ने बताए । उनले व्यवस्थापन समिति र प्रधानाध्यापकले समयमा काम सम्पन्न गर्न नसकेको, पहिलो किस्ता बापतको रकम निकासा गरेर ब्याजमा लगाएको, भवन निर्माण गुणस्तरीय नभएको र विद्यालयको बेरुजु रहेको भन्ने सुनेको जस्ता आरोप लगाउदै त्यस्तो ठाउँमा पालिकाले भवन पूर्णताका लागि रकम निकासा नगर्ने जानकारी दिए ।

अध्यक्ष सिटौलाको भनाइमा भने केही पूर्वाग्रह झल्कने देखिन्थ्यो । ‘अब त्यो विद्यालयलाई सबै गाउँपालिकाको भन्दा धेरै रकम त्यही विद्यालयलाई पर्छ, त्यहिका साथीहरू काम गर्न सक्दैनन्’, उनले भने, ‘मन्त्रालयबाट आउने रकमहरुपनि त्यतै हालिराखेका छन, स्थानीय निकायमा मात्र हैन मन्त्रालयमै सोर्सफोर्स पुग्ने साथीहरु छन त्यहाँ, गर्दा भयो नि ।’

यता व्यवस्थापन समिति अध्यक्ष लिम्बुले सिटौलाको आरोपको खण्डन गर्दै त्यसमा कुनै सत्यता नभएको प्रष्ट्याए । भवन गुणस्तरीय भए नभएको जाँच गर्न आग्रह गर्दै काममा ढिला नगरी रकम पाउनासाथ काम शुरु गरेको तर केही समस्याका कारण तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकिएको लिम्बुले स्विकार गरे ।

गाउँपालिकाले पूर्वाग्रह राखेर बजेट नदिँदा अलपत्र संरचना हेर्नुको विकल्प नरहेको उनले गुनासो गरे ।अलपत्र अवस्थामा रहेको भवन सम्पन्न गर्न प्रदेश तथा केन्द्रमा समेत पहल भैरहेको उनको भनाई छ ।

गाउँपालिकाले नयाँ भवन निर्माणका लागि भने रकम निकासा गरेको र संरचना निर्माण भैरहेको पालिका अध्यक्ष सिटौलाले जानकारी दिए । उक्त निर्माणाधिन भवन समेत निर्माण मजदुर र प्राविधिकबिचको विवादका कारण केही दिनदेखि रोकिएको छ ।

असार ७ गते छत ढलानका लागि गएको गाउँपालिकाका इन्जिनियर विशाल गुरुङ र असिस्टेन्ट सब इन्जिनियर दिछेन शेर्पालाई वडा सदस्य मल्लराज पोमु लगायतको समुहले आक्रमण गरेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्दै नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति ताप्लेजुङले विज्ञप्ति जारी गरेको छ ।

प्राविधिक र मजदुरबीच कमिसनको बिषयमा विवाद हुँदा मजदुरलाई मुद्दा लगाइएको र प्राविधिकले ढलानको काम रोकेको विब्यस अध्यक्ष लिम्बुले बताए । यो समाचार रातोपाटीमा छ ।