अर्जुनधारा । नेकपा एमाले अर्जुनधाराले स्थानीय तह निर्वाचनमा उम्मेद्वारको मनोनयनसँगै घरदैलो तथा जनता भेटघाट कार्यक्रमलाई तिव्रता दिएको छ । आफ्ना उम्मेद्वारलाई निर्वाचनमा विजयी गराउने ध्येयसहित एमाले अर्जुनधाराले नगरपालिकाका मेयर, उपमेयरका उम्मेद्वारसहित घरदैलो कार्यक्रम गरिरहेको छ ।

 

पार्टीले आज अर्जुनधारा नगरपालिकाको ६ र ११ नम्बर वडामा घरदैलो कार्यक्रम तथा कोणसभा गरेको हो । बिभिन्न स्थानमा भएका कोणसभामा नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाका मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले समृद्ध अर्जुनधाराको परिकल्पनाका साथ आफूहरु चुनावी मैदानमा होमिएको बताए ।

 

उनले जनताको शासक नभई सेवक बनेर काम गर्ने उद्देश्यका साथ आफू चुनावी प्रतिस्पर्धामा आएको बताउँदै नगरपालिकाको सबै क्षेत्र र वर्गको दिगो विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

कार्यक्रममा उपमेयर पदकी उम्मेद्वार खड्गमाया पराजुलीले जनाताको माग र विशेषज्ञको सुझावको आधारमा आफूहरुले नगरपालिकामा विकासको काम गर्ने बताइन् । उनले बालबालिका र महिलाहरुको क्षेत्रमा विशेष योजनाका साथ काम गर्ने आफ्नो उधेश्य रहेको समेत धारणा राखिन् ।

 

घरदैलो तथा कोणसभामा ६ र ११ नम्बरका वडाका जनप्रतिनिधिको उम्मेद्वारहरुले समेत जनता समक्ष बिभिन्न प्रतिबद्धता राख्दै मत मागेका छन् । टोलीमा ६ नम्बर वडामा एमालेको तर्फबाट वडाअध्यक्ष पदका उम्मेद्वार दिवाकरलाल चौधरी र वडासदस्य पदका उम्मेद्वारहरु टुंमानाथ काफ्ले, भिम राई, रमा निरौला र कल्पना विश्कर्माको सहभागिता रहेको थियो ।

 

यसैबीच, ११ नम्बर वडामा भएको चुनावी घरदैलो कार्यक्रममा एमालेको तर्फबाट वडाअध्यक्ष पदका उम्मेद्वार खगेन्द्र इङ्नामसहति वडासदस्य पदका उम्मेद्वारहरु पूर्णबहादुर राई, केशव अधिकारी, शुसिला गिरी र सिता कँडेल दर्जीको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा प्रदेशसभा सांसद बिर्ख प्रधान, नेकपा एमालेका प्रदेश कमिटी सदस्य सन्तकुमार राई, अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य लगायतका नेताहरु सहभागी थिए ।