शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाका लागि मेयर, उपमेयरलगायत वडाध्यक्ष पदमा दिएको उम्मेद्वारी नेकपा एकीकृत समाजवादी उम्मेद्वारले फिर्ता लिएको छ । नेकपा एमालेबाट असन्तुष्ट बनेका कार्यकर्ताले दिएको स्वतन्त्र उम्मेद्वारी पनि फिर्ता लिएका छन् ।

 

उम्मेद्वारी फिर्ता लिन तोकिएको शुक्रबार ५ बजेसम्मका समयमा अर्जुनधारा नगरपालिकाका लागि विभिन्न पदमा दिइएका २० जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसअनुसार एकीकृत समाजवादीका तर्फबाट मेयर पदका लागि रमा खवासले दिएको उम्मेद्वारी फिर्ता लिएकी छन् ।

 

यस्तै, उपमेयर पदका प्रत्यासी प्रेमसागर सापकोटाले पनि उम्मेद्वारी फिर्ता लिएका छन् । एकीकृत समाजवादीका तर्फबाट ५ वटा वडाध्यक्षका प्रत्यासीले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । अर्जुनधारा नगरपालिकामा ११ वटा वडा रहेकामध्ये समाजवादीका तर्फबाट ५ वटा वडाकाे अध्यक्ष पदमा उम्मेद्वारी परेकाे थियाे ।

 

कार्यालयका अनुसार वडा नम्बर १ मा कृष्ण लोहारले उम्मेद्वारी फिर्ता लिए भने ५ नम्बर वडाबाट उमानाथ लम्साल, ६ नम्बर वडाबाट अर्जुन मेचे, ११ नम्बर वडाबाट कृष्णप्रसाद ओलीले पनि आफ्नो वडाध्यक्ष पदको उम्मेद्वारी फिर्ता लिएका छन् ।

 

तर, सोही पार्टीबाट ७ नम्बर वडाध्यक्ष पदकी प्रत्यासी इन्दिरा दंगालको उम्मेद्वारी यथावत रहेको छ । सोही पार्टीका ८ जना वडा सदस्यका प्रत्यासीले पनि उम्मेद्वारी फिर्ता लिए पनि ६ नम्बर वडा, ३ नम्बर र ५ नम्बर वडामा १-१ जना सदस्यको उम्मेद्वारी कायम रहेको पार्टीका नगर अध्यक्ष अर्जुन मेचेले जानकारी दिए ।

 

यसैबीच, वडाध्यक्ष पदको आकांक्षी भए पनि पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका अर्जुनधारा २ का योगप्रसाद आचार्यले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् ।

 

नेकपा एमालेका पुराना नेताका रुपमा चिनिने आचार्यले वडाध्यक्ष पदमा उम्मेद्वारी मनोनयन दिएका थिए । एमाले वृत्तमा प्रभावशाली नेताका रुपमा हेरिएका आचार्य स्वयम् निर्वाचन कार्यालयमा उपस्थित भइ उम्मेद्वारी फिर्ता लिएका थिए ।

 

नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वारी नपाएपछि स्वतन्त्ररुपमा उम्मेद्वार बनेकी १० नम्बर वडाकी गान्धारी मिश्रले भने उम्मेद्वारी फिर्ता लिएकी छैनन् । वडा पार्टीबाट वडाध्यक्ष पदका लागि सर्वसम्मत निर्णय भए पनि गठबन्धनका कारण पार्टीले उम्मेद्वारी दिन अस्वीकार गरेपछि उनले स्वतन्त्ररुपमा उम्मेद्वारी दिएकी थिइन् ।

 

नगरपालिकाको मेयर, उपमेयर र ११ वडाध्यक्ष तथा सदस्य गरी ५७ वटा पदका लागि १७५ जनाले चुनावी प्रतिस्पर्धा गर्ने निश्चित बनेको छ ।