झापा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने अठोटका साथ उम्मेद्वारी दिएको बताएका छन् ।
एमाले अर्जुनधाराले वडा नम्बर ९ मा आयोजित मतदाता भेटघाट तथा चुनावी कोणसभालाई सम्बोधन गर्दै गोम्देनले अर्जुनधारालाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउने दाबी गरेका हुन् । आफूलगायत एमालेका सम्पूर्ण उम्मेद्वार उत्कृष्ट नगर बनाउने अठोटका साथ चुनावी मैदानमा होमिएको बताए । उनले अर्जुनधारालाई उत्कृष्ट बनाउने आफ्नोमात्र इच्छा नभई सम्पूर्ण नगरबासीको चाहना पनि भएकाले मतदान गर्न आग्रह गरेक ।
गोम्देनले सरकारी विद्यालयलाई निजीसरहको गुणस्तरीय बनाउनका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले कृषिमा आधारित नगरपालिका भएकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै अर्गानिक उत्पादनमा निर्भर नगरपालिका बनाउने पनि बताए ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट अर्जुनधारा नगरपालिकाकी उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले व्यवस्थित नगरपालिका निर्माणका लागि सुशासनलाई सुदृढ बनाउँदै बालबालिका तथा ज्येष्ठ नागरिक सबैको सारथी बन्ने स्थानीय सरकारको निर्माण गरिने दाबी गरिन् ।
कार्यक्रममा नेकपा एमालेबाट अर्जुनधारा ९ नम्बर वडाको वडा अध्यक्ष पदका उम्मेदवार नरेन्द्रबहादुर राई, वडा सदस्य पदका उम्मेदवारहरु बुद्धिमान लिम्बू, अम्बरबहादुर थापा, गौरीमाया चिमरिया नेपाल र खड्गमाया पौडेली विकले पनि मतदातासमक्ष वडाको विकासका लागि मतदान गरि विजयी गराउन आग्रह गरेका थिए ।
चुनावी कोणसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेकपा एमाले झापा जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री अग्नि खरेल, प्रदेश कमिटी सदस्य तथा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना, एमाले झापा उपाध्यक्ष तथा संविधानसभा सदस्य प्रेमबहादुर गिरी लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।