अर्जुनधारा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले अर्जुनधारा नगरपालिकामा एमालेले निर्वाचन जितिसकेको दाबी गरेका छन् ।
आज अर्जुनधारा नगरपालिकाको ६ नम्बर वडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे एमाले झापा जिल्ला इन्चार्ज समेत रहेका नेता खरेलले अर्जुनधारमा एमालेले मेयर उपमेयर पदमा चुनाव जितिसकेको अवस्था रहे पनि औपचारिक घोषणका लागि बैशाख ३० पर्खिएको जिकिर गरे ।
अर्जुनधारामा सबैको साझा सहमतिमा एमालेले युवा नेता बलदेव गोम्देन तामाङलाई मेयर पदको उम्मेदवार बनाएसंगै अन्य दलका मेयर पदका आकांक्षीहरुको उतिबेलै भागाभाग भएको उनको भनाइ थियो । उनले गोम्देन उम्मेदवार चुनिएसंगै मुख्य प्रतिस्पर्धी कांग्रेसले उम्मेदवार नै परिवर्तन गरेको दावीसमेत गरे ।
अहिले देखिएको नेकपा एमालेका उम्मेदवारहरुप्रति जनताको आकर्षणले चुनाव जितिसकेको सहजै अनुमान गर्न सकिने उनले सुनाए । नगरबासीमा लोकप्रिय नेता बलदेवले ५ वर्षको अवधिमा १० नम्बर वडामा वडाअध्यक्ष हुँदा गरेका काम, विकासप्रतिको लगाव र कटिबद्धता नै चुनाव जित्ने आधार भएको नेता खरेलको भनाइ थियो।
अर्को प्रसंगमा चुनावी कोणसभालाई सम्बोधनको क्रममा नेता खरेलले उदार लोकतन्त्रको कुरा गर्ने कांग्रेसले माओवादी केन्द्रसंग मिलेर ल्याउने व्यवस्था कस्तो हुन्छ ? भन्दै प्रश्न गरे । उनले केवल राजनीतिक दलको स्वार्थका लागि गठबन्धन भएकाले मुलुकका लागि दुर्भाग्य भएको बताए ।
कार्यक्रममा नेकपा एमालेका तर्फबाट अर्जुनधाराको मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङ र उपमेयर पदकी उम्मेदवार खड्गमाया पराजुलीले समृद्ध नगर निर्माण गर्ने योजना पूरा गराउनका लागि आफूहरुलाई मतदान गरि विजयी गराउन आग्रह गरे ।