अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका लागि नेकपा एमालेबाट मेयर पदका प्रत्यासी बलदेवसिंह गोम्देनले शनिश्चरे बजारको सौन्दर्यकरण गर्ने काम निर्वाचित भएपछि पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
अर्जुनधाराको शनिश्चरे बजारमा सोमबार आयोजित चुनावी कोणसभामा आफ्ना प्रतिवद्धता जाहेर गर्ने क्रममा झापाकै पुरानो बजार शनिश्चरेको गरिमालाई यथावत राख्दै सौन्दर्यकरण गर्ने काम आफ्नो टिमको प्राथमिकतामा रहने बताए । बजारको सौन्दर्यकरणपछि झापाको पुरानो बजार हेर्न अन्य पालिकाबाट पनि शनिश्चरे आउने उनको भनाइ थियो ।
प्रविधिमैत्री नगरको अवधारणा अघि सारेका गोम्देनले युवाले चाहेजस्तो शैक्षिक पाठ्यक्रम, स्वास्थ्य, खेलकुदको विकासमा फड्को र रोजगारमुखी नगरको योजना एमालेको जितबाट मात्र सम्भव हुने दाबी गरे ।
यसैबीच, एमालेका प्रदेश १ का इन्चार्ज तथा स्थायी कमिटि सदस्य देवराज घिमिरेले एमालेका जनप्रतिनिधिले स्थानीय तह निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने कुरामा ढुक्क हुन आग्रह गरे । चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता घिमिरेले एमालेका जनप्रतिनिधिले मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने कुरामा कुनै संकोच नराख्न आग्रह गरेका हुन् ।
अहिले मुलुकमा चुनावै नचाहने पार्टीहरुले गठबन्धन गरेर स्वार्थका लागि निर्वाचनमा होमिएको उले आरोप लगाए । जनताले प्रत्यक्षरुपमा मतदान गरेर स्थानीय प्रतिनिधि चुन्ने सूवर्ण अवसर पाँच वर्षमा मात्रै प्राप्त हुने भएकाले योग्य र इमान्दार उम्मेदवारहरुलाई मतदान गर्न आग्रह पनि गरे ।
उनले अर्जुनधारा नगरपालिकामा एमालेका तर्फबाट विकासप्रेमी, जनप्रिय, योग्य र इमान्दार उम्मेदवारहरु चुनावी मैदानमा होमिएको भन्दै प्रशंसा पनि गरे । उनले मेयर पदका उम्मेदवार गोम्देनले यसअघि १० नम्बर वडाको अध्यक्ष हुदाँ वडा तथा नगरको विकासमा खेलेको भूमिकाको खुलेरै प्रशंसा गरे ।
कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज अग्नि खरेल, उपमेयर पदकी प्रत्यासी खड्गमाया पराजुली, ८ नम्बर वडाका अध्यक्षका प्रत्यासी कुमार उप्रेतीलगायतले आफ्ना प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले मेयर पदका उम्मेदवार गोम्देन, उपमेयर पदकी उम्मेदवार पराजुली लगायत ११ वटै वडाका अध्यक्ष र सदस्यहरु गरि ५७ जना उम्मेदवारहरुलाई मतदान गरि विजयी गराउन आग्रह गरेका थिए ।
तक्मे बूढा र यम बराल चुनावी सभामा
नेकपा एमालेका उम्मेद्वार जिताउन लागिपरेका विल्सनविक्रम राई (तक्मे बूढा)को सिंगो टिमसहित आज गायक यम बराल पनि उपस्थित थिए ।
तक्मे बूढाले सभामा उपस्थितलाई हँसाउँदै एमाले उम्मेद्वारको पक्षमा भोट मागे भने नायिका रजनी गुरुङसँग नृत्य पनि प्रस्तुत गरे । यस्तै, पुराना गायक यम बरालले पनि उम्मेद्वारको पक्षमा भोट माग्दै आफ्नो केही चर्चित गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए ।