खुदुनाबारी । अर्जुनधारा नगरापालिकाका मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङले प्राविधिक र प्रविधिको अधिकतम प्रयोग गरेर अर्जुनधारामा कृषिमा क्रान्ति ल्याउने बताएका छन् ।
अर्जुनधारा २ नम्बर वडामा आज आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै गोम्देनले कृषिको क्षेत्रमा प्रचुर सम्भावना भएको अर्जुनधारालाई कृषि क्रान्तिबाट समृद्ध बनाउन सकिने पर्याप्त आधारहरु रहेको उल्लेख गरे ।
उनले आफू नेतृत्वको टिम विजयी भएपछि कृषि क्षेत्रमा देखिएको सिँचाईको समस्यालाई पहिलो प्राथमिकता दिएर समाधान गर्ने बताए । निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गर्दै व्यावसायिक कृषिलाई जोड दिएर नगरपालिकाका हरेका कृषकहरुलाई स्थानीय सरकारले प्रविधिमैत्री बनाउने लक्ष्य रहेको उनले बताए ।
यसैबीच, गोम्देनले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षित र व्यवस्थित बनाइने बताएका छन् । अर्जुनधारा २ कै भोर्लेनी र खाल बस्तीमा आयोजित कोणसभामा स्थानीयले मदन भण्डारी राजमार्गका कारण आफूहरु विस्थापित हुने अवस्था सिर्जना भएको गुनासो राखेपछि मेयर पदका उम्मेदवार गोम्देनले बस्तीलाई असर नपर्नेगरी राजमार्गको निर्माणका लागि पहल गर्ने आश्वासन दिएका छन् ।
उनले वन क्षेत्रसँग नजिक भएको बस्ती रहेकाले दुवैको संरक्षण हुनेगरी निर्माण आयोजनासँग समन्वय गरेर राजमार्गको निर्माण र व्यवस्थापन गर्ने कुरामा भूमिका खेल्ने बताए ।
निर्माणाधीन मदन भण्डारी राजमार्ग इलामको माई नगरपालिकाबाट अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाको केही स्थानहुँदै २ नम्बर वडाको भोर्लेनी, खाल, बेल्टार, गाँजाबारी, राते बस्तीहुँदै इलामको रोङ गाउँपालिका प्रवेश गर्नेछ ।
आयोजनाअन्तर्गत अहिले अर्जुनधाराको २ नम्बर वडाका टाङटिङ र गाेयाङ नदीमा पुल निर्माणको काम अन्तिम चरणमा रहेको छ ।