अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाको मतगणना भइरहेको तीनवटै वडामा गठबन्धनका उम्मेद्वारले अग्रता बनाएका छन् । अर्जुनधारा नगरपालिकाको ३, ४ र ५ नम्बर वडामा भएको मतदानको गणना भइरहेको छ ।

 

यसअघि ३ नम्बर वडाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हरि वाग्लेले अग्रता बनाएका थिए । तर, पछिल्लो मत परिणामअनुसार गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेद्वार सीताराम भट्टराईले उछिन्दै कमब्याक गरेका छन् । यस्तै, ४ र ५ नम्बरमा सुरुवाती अग्रतालाई जोगाउँदै निरन्तरता दिइरहेका छन् ।

 

वडा नम्बर ३ मा २ हजार ९८ मत गणना हुँदा एमाले उम्मेद्वार वाग्लेले ९२९ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार भट्टराईले ९४५ मत ल्याएर १६ मतको अग्रता बनाएका छन् । यसको औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

 

यस्तै, ४ नम्बर वडामा गठबन्धनका उम्मेद्वार अम्बर कटुवालले ८९८ मत पाउँदै अग्रपंक्तिमा रहेका छन् । यस वडाको १ हजार ९०२ मत गणना हुँदा एमालेका उम्मेद्वार एकदेव खनालले ६९७ मत पाएका छन् । यहाँ २०१ मतको फरकमा गठबन्धनका उम्मेद्वार अघि छन् ।

 

यसैगरी, वडा नम्बर ५ मा १ हजार ८९५ मत गणना भइसक्दा गठबन्धनका उम्मेद्वार हरि खड्काले ८७५ मत ल्याएका छन् । पछ्याउँदै गरेको एमालेका उम्मेद्वार डम्बर घिमिरेले ६९२ मत पाएका छन् । यस वडामा १८३ मतको अन्तर रहेको छ ।

 

नगर प्रमुख र उपप्रमुखमा भने एमालेका उम्मेद्वार नै अघि रहेका छन् । यसअघि चारै जना परिषद् सदस्यमा एमालेका उम्मेद्वार विजयी भएको १ र २ नम्बर वडाको अध्यक्षमा भने उपेन्द्र बस्नेत र नरेन्द्र श्रेष्ठ गठबन्धनका उम्मेद्वार विजय भइसकेका छन् ।