अर्जुनधारा । अर्जुनधारा ४ नम्बर वडाको अध्यक्षमा पनि गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । यस वडामा दुई महिला सदस्य पनि गठबन्धनका उम्मेद्वार विजयी भए । भर्खर सम्पन्न मत गणानाको परिणाम अनुसार गबन्धन तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका अम्बर कटुवाल भारी मतले विजयी भएका छन् । सर्वाधिक १ हजार ६६० मत ल्याएर कटुवाल वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

 

उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार एकदेव खनालले १ हजार ७७ मतमात्र पाए । खनाललाई ५८३ मतले पछि पार्दै कटुवालले बाजी मारेका हुन् । तेस्रो स्थानमा राप्रपाका उम्मेद्वारले १७७ मत पाए ।

 

यो वडामा वडाध्यक्षसहित नेपाली कांग्रेसका दुई परिषद् सदस्यले पनि विजय प्राप्त गरे । यो पहिलोपल्ट सदस्यमा विजयी भएका हुन् । परिणामअनुसार महिला सदस्यमा कोपिला थापा १ हजार ४३० र महिला दलित सदस्यमा सीतादेवी विश्वकर्माले १ हजार ३९५ मत ल्याएर विजयी बनेका हुन् ।

 

यस्तै, नेकपा एमालेका उम्मेद्वार अमृतबहादुर बुढाथोकीले १ हजार २४२ र जितबहादुर लिम्बूले १ हजार १७१ मत ल्याउँदै परिषद् सदस्यमा निर्वाचित भएका छन् ।

 

नगर प्रमुख पदमा भने एमालेका उम्मेद्वार नै अगाडि छन् । एमालेका उम्मेद्वार बलदेवसिंह गोम्देनले ७ हजार ४३० मत ल्याएका छन् । गठबन्धनकी उम्मेद्वार रञ्जिता कार्कीले ६ हजार ६०६ मत ल्याएकी छन् । उपमेयर पदमा एमालेकी खड्गमाया पराजुलीले ७ हजार ३५३ मत पाउँदा गठबन्धनका उम्मेद्वार जितेश योञ्जनले ४ हजार १५७ मत पाएका छन् ।