अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा गठबन्धनका उम्मेद्वार विजयी हुने क्रमले निरन्तरता पाएको छ । नेपाली कांग्रेसबाट उम्मेद्वार दिएका वडा नम्बर ५ का वडाध्यक्षका प्रत्यासी हरि खड्का पछिल्लोपटक निर्वाचित भएका हुन् । यसअघि वडा नम्बर १ देखि ४ सम्म क्रमशः वडाध्यक्ष पदमा गठबन्धन (नेका)का उम्मेद्वारले विजय हासिल गर्दै आएका थिए ।
प्राप्त मत परिणामअनुसार वडाध्यक्ष पदमा खड्काले विपक्षीभन्दा १२८ मत ल्याउँदै विजय हासिल गरे । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार डम्बर घिमिरे पराजित भएका हुन् । दुवै उम्मेद्वारले प्राप्त गरेको मत निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले घोषणा गर्न बाँकी रहेको छ ।
नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेद्वार खड्कासँगै एक जना खुला सदस्यका उम्मेद्वार पनि विजयी बनेका छन् । खुला सदस्यका प्रत्यासी अर्जुन कँडेलले १०३ मत ल्याएर विजयी बनेका छन् ।
अन्य परिषद् सदस्यमा भने नेकपा एमालेका उम्मेद्वार विजयी बनेको बताइएको छ । यसको पनि औपचारिकरुपमा घोषणा हुन बाँकी छ । यसैगरी, अर्जुनधारा ६ र ७ नम्बर वडाको पनि मतगणना जारी रहेको छ ।
यसअघि अर्जुनधारा १ मा उपेन्द्र बस्नेत, २ मा नरेन्द्र श्रेष्ठ, ३ मा सीताराम भट्टराई र ४ मा अम्बर कटुवाल गठबन्धनका तर्फबाट विजेता बनिसकेका छन् ।