अर्जुनधारा । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा झापाको अर्जुनधारा नगरपालिकाको ७ र ८ वडामा नेकपा एमालेका उम्मेद्वारलाई अग्रता मिलेको छ । ६ नम्बरमा भने गठबन्धनका उम्मेद्वारलाई एमालेले पछ्याउँदै आएको छ । सुरुवाती अग्रता हासिल गरेको ७ नम्बर वडाका प्रत्यासी गोविन्द खतिवडाले निरन्तरता लिइरहेका छन् ।

 

यस वडाको १ हजार २ सय मत गणना सकिँदा खतिवडाले २६ मतले अग्रता लिएका छन् । खतिवडाले ५५४ मत ल्याउँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नविन ढुंगानाले ५२८ मत पाएका छन् ।

 

यसैगरी, वडा नम्बर ७ मा पनि एमालेका प्रत्यासी अगाडि छन् । एमालेका कुमारप्रसाद उप्रेतीले ३८५ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका गोपीचन्द्र गौतमले ३५५ मत पाएका छन् । यस वडाको ८ सय मतगणना सकिएको छ ।

 

यस्तै, ६ नम्बर वडामा नेपाली कांग्रेसका हरिशचन्द्र बाँस्तोलाले आफ्नो सुरुवाती अग्रतालाई जोखाइराखेका छन् । वडाको १ हजार ५०३ मत गणना भइसक्दा बाँस्तोलाले ६९७ मत पाएका छन् भने प्रतिद्वन्द्वी दिवाकरलाल चौधरीले ६२४ मत ल्याएर पछ्याइरहेका छन् ।

 

११ वटा वडा रहेको यस नगरको १, २, ३, ४ र ५ नम्बर वडामा गठबन्धनका उम्मेद्वार अध्यक्ष पदमा निर्वाचित भइसकेका छन् ।