झापा । स्थानीय तह निर्वाचनकोे मत परिणाम सार्वजनिक भइरहँदा अर्जुनधारा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेद्वारले अग्रता कायम गरिरहेका छन् । मेयर र उपमेयर पदका उम्मेद्वार जीत नजिक पुगेका छन् । ११ वटा वडा रहेको यस नगरको ८ वटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ ।

 

अहिले ९, १० र ११ नम्बर वडाको मतगणना जारी छ । अहिलेसम्म नगर प्रमुख पदमा एमालेका प्रत्यासी बलदेव सिंह गोम्देनले सर्वाधिक १६ हजार ७३१ मत प्राप्त गरेका छन् । कुल ५३ हजार ७४५ कुल मतदाता संख्या रहेको यस नगरमा यसपटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको थियो ।

 

उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार रञ्जिता कार्कीले १२ हजार ६६३ मत ल्याएर दोस्रो स्थानमा छिन् । कांग्रेसकी कार्कीभन्दा एमालेका गोम्देन ४ हजार ६८ मतले अगाडि छन् ।

 

यसैगरी, एमोलेकी उपमेयर पदका प्रत्यासी खड्गमाया पराजुलीले १५ हजार ५८४ मत ल्याएर अग्रस्थानमा रहेकी छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार जितेश योञ्जन दोस्रो स्थानमा छन् । उनले ८ हजार २८१ मत ल्याएका छन् । परिणामअनुसार माओवादी केन्द्रका योञ्जनभन्दा एमालेकी पराजुली ७ हजार ३०३ मतले अघि छन् ।

 

अहिले वडा नम्बर ९, १० र ११ को मतगणना जारी रहेको छ । अहिलेसम्म सम्पन्न मत गणनाअनुसार ६ वटा वडाको प्रमुख नेपाली कांग्रेस र २ वडामा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

 

१ नम्बरमा उपेन्द्र बस्नेत, २ नम्बरमा नरेन्द्र श्रेष्ठ, ३ नम्बरमा सीताराम भट्टराई नेपाली कांग्रेसको तर्फबाट विजयी भएका छन् । यस्तै, ४ नम्बर वडाको अध्यक्षमा अम्बर कटुवाल, ५ नम्बरमा हरि खड्का र ६ नम्बर वडामा हरिशचन्द्र बाँस्तोला पनि कांग्रेसको तर्फबाट निर्वाचित भए ।

 

तर, नगरपालिकाको केन्द्र मानिने वडा नम्बर ८ बाट कुमारप्रसाद उप्रेती एमालेका तर्फबाट विजयी भएका छन् । यस्तै, ७ नम्बर वडाको अध्यक्षमा एमालेकै गोविन्द खतिवडा निर्वाचित भए । यस वडामा एमालेको प्यानलै निर्वाचित हुँदा एमालेले नगरमा खाता खोलेको थियो । ०७४ सालमा सम्पन्न निर्वाचनमा ७ नम्बर र ८ नम्बर वडा नेपाली कांग्रेसले जितेको वडा हो ।