झापा । जिल्ला समन्वय समिति (जिसस) झापाको समितिमा नेकपा एमालेको एकल उम्मेदवारी परेको छ । जसअनुसार जिल्ला समन्वय समिति झापाको प्रमुखमा विश्व बरालको एकमात्र उम्मेदवारी परेको हाे । निर्वाचन कार्यतालिका अनुसार मंगलवार मनोनयन दर्ताका क्रममा बरालको मात्रै उम्मेद्वारी परेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

 

एमालेका मात्र उम्मेदवारकाे मनाेनयन दर्ता भएपछि उनीहरू निर्विराेध भएका छन् तर निर्वाचन प्रक्रियाअनुसार घाेषणा हुन भने बाँकी रहेकाे छ । दमक निवासी बरालले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । त्यस्तै, उपप्रमुख पदका लागि एमालेका तर्फबाट शान्ता रोक्काको मात्रै उम्म्दवारी परेको छ । जिल्ला समन्वय समितिमा एक/एक जना प्रमुख र उपप्रमुख रहने व्यवस्था छ ।

 

त्यस्तै दुई खुल्ला सदस्य, तीन जना महिला सदस्य र दलित वा अल्पसंख्यकबाट एक जना सदस्य रहने व्यवस्था छ । सोही व्यवस्था अनुसार सदस्यहरु देवका बस्याल, तुलसा काफ्ले बराल, जुनु महरा, सन्तोष सोरेन, जलाल अलि, कपिल काफ्ले, रीता नेपाली निर्विरोध निर्वाचित भएका छन् । तर, जिल्ला निर्वाचन कार्यालय झापाले भने औपचारिक रुपमा घोषणा गरेको छैन ।

 

झापामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एकल वहुमत रहेकाले अन्य दलले उम्मेदावारी दर्ता गराएका छैनन् । जसअनुसार एमालेका उम्मेदवार निर्विराेध भएका छन् तर निर्वाचन कार्यतालिकाअनुसार घाेषणा हुन बाँकी रहेकाे छ ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार आज मनोनयन दर्ता, भोलि बुधबार चुनाव चिन्ह वितरण र दावी विरोधको समय र पर्सी ९ गते मतदानसँगै विजयी घोषणा गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।