बिर्तामोड । बुधबारे हटियाका ब्यवसायीका लागि बिद्युत मिटरको माग गर्दै शान्तिपूर्ण आन्दोलन गर्दा पक्राउ परेका बिर्तामोड उद्योग वाणिज्य संघका पदाधिकारीहरु करिब ७ घण्टापछि बिना शर्त रिहा भएका छन् ।

 

बिर्तामोडको बुधबारे हटियामा ब्यवसाय गर्दै आएका ब्यापारीहरुलाई बिद्युत मिटर माग गर्दै उद्योग वाणिज्य संघको नेतृत्वमा बिर्तामोड नगरपालिकामा चार दिनदेखि शान्तिपूर्ण आन्दोलन हुँदै आएको थियो । सोही आन्दोलनको निरन्तरता स्वरुप बुधबार प्रदर्शनका क्रममा वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, सह-कोषाध्यक्ष राधिका चुँडाल हुमागाईलगायत ११ जना ब्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो ।

 

पक्राउ परेकाहरुलाई बिना शर्त रिहा गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । व्यापारी र नगरपालिकाबीच उत्पन्न समस्या समाधानका लागि बुधबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको उपस्थितिमा भएको छलफलले तीन दिनभित्र बिद्युत मिटर जडानको प्रबन्ध मिलाउने मौखिक समझदारी भएको बिर्तामोड उद्योग वाणिज्य संघले बिज्ञप्तिमार्फत जनाएको छ ।

 

छलफलमा नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्की, नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेबे, नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ को तर्फबाट अध्यक्ष टिकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघको तर्फबाट प्रकाश शिवाकोटी सहभागी थिए ।

 

तीन दिनसम्म शान्तिपूर्ण आन्दोलन जारी रहने अध्यक्ष शिवाकोटीले जानकारी दिए । तीन दिनभित्रमा पनि समस्याको समाधान नभए थप आन्दोलनको कार्यक्रम गरिने उनले बताए । हाललाई बिद्युत मिटर माग गरिएको र स्थायी संरचना बनेको खण्डमा ब्यवसायीहरुले ठाउँ खाली गरिदिने उनको भनाइ छ ।

 

बुधबारे हटियाको समस्या समाधानका लागि बिर्तामोड नगरपालिकाले कार्यदल गठन गरिसकेको छ । नगर उपप्रमुख नगेन्द्र संग्रौलाको संयोजकत्वमा बनेको कार्यदललाई १ महिनामा प्रतिवेदन बुझाउन म्याद दिइएको छ ।