काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

 

समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

 

हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ । इकान्तिपुरबाट