काठमाडौँ । गठबन्धन सरकारले पेट्रोलियम पदार्थको निरन्तर बढ्दो मूल्यलाई ह्वात्तै घटाएर सर्वसाधारणलाई राहत दिएको छ । सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक ठूलो मात्रामा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।

 

यससँगै, आज राति १२ बजेदेखि लागू हुने गरेर सरकारले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेल–मट्टितेलको मूल्यमा प्रतिलिटर २९ रुपैयाँ घटाएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आजै रातिदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिए ।

 

घटेको मूल्यअनुसार अब उपभोक्ताले प्रतिलिटर १७९ रुपैयाँमा पेट्रोल र १६३ रुपैयाँमा डिजेल–मट्टितेल पाउँछन् । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ थियो । जसमध्ये पेट्रोलमा २० रुपैयाँ र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य कटौती गरिएको हो ।

 

सत्ता गठबन्धनको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २८ रुपैयाँले घटाउने निर्णय गरेको थियो । तर, गठबन्धन बैठकको निर्णय सुनाउने क्रममा उद्योग मन्त्री बडूले झुक्किएर २९ रुपैयाँ घटेको बताएपछि सोहीअनुसार लागू हुने घोषणा समेत गरे । त्यसक्रममा उनले २८ रुपैयाँ घटेर डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ हुने घोषणा गरेका थिए ।

 

मन्त्री बडू झुक्किएपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सम्झाएका थिए । त्यसपछि मन्त्री बडूले आफूले गरेको घोषणा अनुसार डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ नै लागू हुने घोषणा गरे । र, उक्त घोषणाअनुसार निगम डिजेल र मट्टितेलको मूल्य २९ रुपैयाँ घटाउन सहमत बन्यो ।

 

यसैगरी, सरकारले २६ जुनदेखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । जुन, यही जुलाई १ गतेसम्म मात्रै लागू हुने देखिन्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट तोक्ने निर्णय समेत सरकारले गरेको छ । त्यसअनुसार जुलाई १ मा इण्डियन आयल निगमले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाउँछ । उक्त मूल्यसूची बढेर आए फेरि मूल्य बढ्ने निश्चित छ ।