झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले करार सेवामा कार्यरत १८ जना कर्मचारीलाई जागिरबाट निकाल्ने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको असार २२ गते बसेको बैठकले करार सेवामा नियुक्ति दिएका १८ जना कर्मचारीको चालु आर्थिक वर्षको साउन १ गतेदेखि करार सम्झौताको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए ।

 

करार सम्झौता म्याद थप नगर्नेको सूचीमा इन्जिनियर अमित ढुङ्गाना, सब इन्जिनियर देवीप्रसाद थपलिया, असिस्टेन्ट सब इन्जिनियर सन्तोष खतिवडा, कम्प्युटर टेक्निसियन मुन्ना आलम, अमरसिंह राजवंशी, सहायक कम्प्युटर टेक्निसियन अमरसिंह राजवंशी, हलुका सवारी चालक सोमनाथ बराल, हलुका सवारी चालक तुलसीप्रसाद यादव, अनवर आलम कार्यालय सहयोगी, चौकीदार राजेशकुमार गणेश, चौकीदार अलबारुल हक, प्रशासन सहायक राधिका पौडेल रहेका छन् ।

 

त्यस्तै सुपरिवेक्षक (गणक)तर्फ कृष्ण चौधरी, टेकनारायण गणेश, दीपककुमार राजवंशी, वविता अधिकारी, लयवती राजवंशी, रेखा राजवंशी र रजाक मियाँ रहेका छन् । सुपरिवेक्षकहरूको ६ महिने करार म्याद दुई महिनाअघि सकिएको हुनाले उनीहरूको पनि म्याद नथप्ने बैठकले निर्णय गरेको जनाइएको छ ।

 

सुपरिवेक्षकबाहेक अन्य ११ जना करार सेवाका कर्मचारीहरू लामो समयदेखि गाउँपालिकामा काम गर्दै आइरहेका थिए । गाउँपालिकाले ती कर्मचारीहरूको बर्से पिच्छे एक वर्ष म्याद थप गर्दै आइरहेका थिए । तर, यस पल्टको कार्यपालिकाको बैठकले म्याद थप नगर्ने निर्णय गरेपछि करार सेवाका कर्मचारीहरू असन्तुष्ट देखिएका छन् ।

 

गाउँपालिकामा यसअघि राप्रपाको बहुमतको सरकार थियो । २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनपछि गाउँपालिकामा काँग्रेसको बहुमत सरकार बनेको छ । काँग्रेसलाई नेकपा एमालेको समर्थन छ । असार २२ गते बसेको कार्यपालिका बैठकले गरेको निर्णय बिहीबार मात्र करारका कर्मचारीले थाहा पाएका हुन् । गाउँपालिकाले सात दिनसम्म सो निर्णय लुकाएर राखेका थिए ।

 

कर्मचारीले बुझाए ध्यानाकर्षणपत्र
गाउँपालिकाले बिना जानकारी करार सेवाका कर्मचारीलाई निकाल्ने निर्णय गरेसँगै असन्तुष्ट बनेका करार कर्मचारीहरूले शुक्रबार गाउँपालिकालाई ध्यानाकर्षणपत्र बुझाएको छ ।

 

उनीहरूले गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई र प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई शुक्रबार बिहान सो ध्यानाकर्षणपत्र बुझाएका हुन् । गाउँपालिकाले विभिन्न तहमा १५० जनाभन्दा बढी करारका कर्मचारी नियुक्ति गरेको छ ।

 

गाउँपालिकाले पूर्वग्राही ढङ्गले मलगायत केही साथीहरूलाई जागिरबाट निकालेको भन्दै असिस्टेन्ट सब इन्जिनियर सन्तोष खतिवडाले भने, ‘हामीले काम गरिरहेको ठाउँमा स्थायी कर्मचारी ल्याउँछन् भने केही आपत्ति रहँदैन’ । ‘हामीलाई हटाएर फेरि करारमा नयाँ कर्मचारी नियुक्ति गर्छन् भने त्यो प्रक्रिया गलत हुन्छ, त्यसको प्रतिकार हामी गछौं,’ उनले भने ।