विराटनगर । प्रदेश १ को नामकरणको बहस तीब्र भइरहेका बेला किरात प्रदेशको माग गर्दै सोमबार मुख्यमन्त्री कार्यालय घेराउ भयो । किरात राई यायोख्खाको नेतृत्वमा भएको घेराउ कार्यक्रममा सुनसरीको धरानदेखि इटहरी हुँदै सयौं मोटरसाइकलको र्याली मुख्यमन्त्री कार्यालय र प्रदेशसभा भवन घेर्न पुगेको थियो ।

 

र्‍यालीका कारण निकैबेर कोशी राजमार्ग प्रभावित बन्यो । मुख्यमन्त्री कार्यालय विराटनगरको रोडशेष क्षेत्र झण्डै दुई घण्टा एकतर्फी बन्यो । घेराउ कार्यक्रममा किरात राई यायोख्खाका नेताहरुले प्रदेशको नाम किरात राख्नुपर्नेमा जोड दिए । उनीहरुले मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रशंसा गरे भने किरात प्रदेशको विरुद्धमा जाने दलहरुलाई आगामी चुनावमा देखाइदिने धम्की पनि दिए ।

 

घेराउकै बीचमा मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापनपत्र पनि बुझाइएको थियो । त्यसक्रममा किरात राई यायोख्खाका अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात घोषणा गर्न सफल भए मुख्यमन्त्री राईलाई आफ्नो इतिहास पूर्खा भनेर चिनिने यलम्बरको उपाधिले सम्मान गर्ने घोषणा गरे ।

 

सोही क्रममा मुख्यमन्त्री कार्यालयभित्रै ‘१ नम्बर प्रदेश किरात प्रदेश’ भन्दै नाराबाजी पनि भएको थियो । ज्ञापनपत्र बुझाउने क्रममा किरात राई यायोख्खाका महासचिव जनक राईले प्रदेशको नामकरण किरात नभए आन्दोलन गर्ने चेतावनी दिए ।

 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले भने किरात प्रदेश नामकरण गरिनुपर्ने कुरामा आफ्नो पनि समर्थन रहेको बताए । ज्ञापनपत्र बुझ्दै उनले आफूले सार्वजानिक रुपमा किरात प्रदेश हुनुपर्ने माग राख्दै आएको स्मरण गरे ।

 

‘मैले भन्दै आएको छु, पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्दछ,’ मुख्यमन्त्री राईले भने, ‘मैले खुल्ला रूपमा भन्दै आएको छु । प्रदेशको नाम पहिचानको आधारमा किरात प्रदेश हुनुपर्दछ । प्रदेशको नामकरणको लागि मतदान गर्दा मैले जुनसुकै मूल्य चुकाएर भएपनि किरात प्रदेश मै गर्नेछु, किरातीको छोरा भएको नाताले मैले यसो भनेको होइन । प्रदेश १ पहिचान र सभ्यता जोडिएको प्रदेश हो । त्यसैले पनि प्रदेशको नामकरण किरात प्रदेश हुनुपर्ने दशी भएकोले किरातको पक्षमा बोल्दै आएको छु ।’ रातोपाटीबाट