इलाम । इलाम नगरपालिकाले आस्थाका आधारमा कर्मचारीहरुलाई निस्कासन गरेको भन्दै त्यसको विरोध भएको छ । राजनीतिक दल र विभिन्न कर्मचारी संगठनहरुले विज्ञप्ति निकाल्दै निर्णय सच्याउन नगरपालिकालाई दबाव दिएको छ ।
इलाम नगरपालिकाले विभिन्न पदमा करारमा रहेर सेवा गर्दै आएका ९ जना कर्मचारीलाई साउन १ गतेदेखि काममा नआउन भन्दै निष्काशन गरेको छ । कम्प्युटर अपरेटर, नगर प्रहरी, चालक र कार्यालय सहयोगी गरी ९ जना करारमा नियुक्त कर्मचारीहरुलाई नगरले निकालेको छ ।
निर्वाचित भएको २ महिना नबित्दै आस्थाका आधारमा कर्मचारीहरुलाई निकालेको भन्दै नेकपा एमालेले विरोध जनाएको छ । नेकपा एमाले नगर कमिटीले विज्ञप्ति जारी गर्दै राजनीतिक पूर्वाग्रह राखेर नगरपालिकाले गरेको अपरिपक्व, नियोजित ढंगले श्रमजीवीको रोजीरोटी खोस्ने काम गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नगरपालिकाको जस्तो साझा संस्थाले राजनीतिक आस्थाका आधारमा पूर्वाग्रह साँध्ने काम गर्नु आपत्तिजनक कुरा भएको एमालेले जनाएको छ । नगरको यो कार्यले नगरपालिकाको नेतृत्व स्वच्छ, निष्पक्ष, पारदर्शीता, न्यायिक र विधिको शासन पालना गर्दैन भन्ने पुष्टि गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा आस्थाका आधारमा कर्मचारी निष्काशन गरेर नगरले भ्रष्टाचारको आधार तयार पारेको आरोप लगाइएको छ । नगरपालिकाले निर्णय नसच्याए त्यसको प्रतिवादमा उत्रने पनि एमालले जनाएको छ ।
यसैगरी, नेपाल निजामती कर्मचारी संगठनले पनि आस्थाका आधारमा कर्मचारीलाई कामबाट विदा दिने कार्यले मानिसको सामान्य जीवनयापनबाटै विमुख गराइएको भन्दै आपत्ति जनाएको छ । कर्मचारीहरुलाई सेवामा निरन्तरता दिन पनि संगठनले माग गरेको छ । आफ्नो मागप्रति बेवास्ता गरिएमा संगठनले जस्तो सुकै मुकाबिला गर्ने पनि जनाएको छ ।
यस्तै, स्थानीय तह कर्मचारी शाखा कमिटीले पनि विज्ञप्ति जारी गर्दै कर्मचारी निष्काशन गर्ने नगरपालिकाको निर्णयको विरोध गरेको छ । उसले करारको म्याद नथपी निष्काशन गरिएका कर्मचारीहरुलाई तत्काल काममा फर्काउन जोडदार माग गरेको छ । माग पूरा नगरेमा संघर्षको कार्यक्रम ल्याउने पनि कमिटीले जनाएको छ ।
कार्यपालिकामा छलफल नगरी कर्मचारी निष्काशन
इलाम नगरपालिकाले असार ३० गतेको कार्यपालिकाको बैंठकको निर्णय भन्दै नगरमा कार्यरत ९ जना कर्मचारीलाई काममा नआउन पत्र थमाएको छ । तर, इलाम नगरपालिका वडा नं. २ का वडाध्यक्ष गिरीराज रिजालले भने सो दिनको कार्यपालिका बैंठकमा कर्मचारी निष्काशन गर्ने र करार नथप्ने एजेण्डा नै नभएको भन्दै आपत्ति जनाएका छन् ।
उनले कर्मचारी निष्काशनका निर्णय तत्काल सभ्याउन पनि नेतृत्वलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, इलाम नगरपालिकाले अचानक कर्मचारीको करार अबधि थप नगरीकन सेवाबाट बिना पूर्व सूचना निष्कासित गरेको समाचार सामाजिक संजालमा आएको प्रति दुःख ब्यक्त गर्दछु । म पनि इनपा वडा नं. २ सुम्बेकको जननिर्वाचित वडाध्यक्ष हुनुको कारण इलाम नगरकार्यपालिकाको सदस्य हुँ ।
यस हिसाबले कार्यपालिका बैंठकहरुमा सहभागी भइरहेको छु । हालसम्मका कुनै पनि कार्यपालिका बैंठकहरुमा कर्मचारी थपघट र नयाँ दरबन्दी सिर्जना र सरुवाजस्ता बिषयहरुमा न छलफल नै भयो, न त कुनै कार्यसूची बने, कँही कतै छलफल नै नभएको बिषय कार्यपालिकाको निर्णय भन्दै करारमा कार्यरत कर्मचारी निष्कासित गरिएको कार्यप्रति गम्भीर आपत्ति, असन्तुष्टि एवं असहमति जाहेर गर्दछु ।
कार्यपालिकामा छलफल, वहस र सहमतिमा गरिनुपर्ने यस्ता निर्णयहरु सामाजिक संजालमार्फत मात्र थाहा पाउनु परेकोमा एक कार्यपालिका सदस्यको हैसियतले गहिरो दुःख ब्यक्त गर्दछु । आगामी दिनहरुमा यी र यस्तै प्रकृतिका निर्णयहरु कार्यपालिकाको हवाला दिएर नदोहोरियाइयोस् र कर्मचारी निश्कासनको निर्णय यथाशक्य सच्याइयोस् ।
हाम्रो इलाम नगरपालिकाको नेतृत्वप्रति हार्दिक आग्रह गर्दछु । आफंै कार्यपालिका सदस्य भएर पनि यो विषय सामाजिक संजालमार्फत उठान गर्नु परेकोमा दुःख समेत ब्यक्त गर्दछु ।