बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको बताएका छन् । उनले लुट मच्चाउनेहरुलाई आगामी निर्वाचनबाट परास्त गरिने बताए । अध्यक्ष ओलीले गठबन्धनवाला पार्टीलाई चुनावबाट कुनै पनि हालतमा पराजित गर्नुपर्ने बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षणमा कार्यक्रमको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले गठबन्धनले देशमा मच्चाइरहेको लुट अन्त्य गर्न एमालेका सचेत कार्यकर्ताहरु तल्लो तहसम्म तयारी रहनुपर्ने बताए । उनले गठबन्धनलाई परास्त गर्ने मौका भनेकै आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन भएको प्रतिक्रिया दिए ।
अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक तयारी थाल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् । सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको आरोप लगाउँदै सत्ता गठबन्धनका पार्टीलाई जनता सजग भएर एकमुष्ठ पराजित गर्नुपर्ने ओलीको भनाई थियो ।
सत्ता गठबन्धनका पार्टीहरूले लोकतान्त्रिक मूल्य(मान्यताविपरितका काम गरिरहेको ओलीले आरोप लगाए । देशमा अनेकौं समस्या रहिरहेका बेला त्यो भन्दा अझै ठूलो समस्याका रुपमा सत्ता गठबन्धनका पार्टीहरूका क्रियाकलाप रहेको उनको भनाइ थियो । सत्ता गठबन्धन देशलाई पछाडि धकेल्नका लागि बनेको उनको दाबी थियो ।
आज झापा ओर्लिएका ओलीले चार दिन गृहजिल्ला झापामा बिताउने छन् । मुक्ति समाजको कार्यक्रममा शुरुमा सहभागी जनाएको ओलीले दिनभर नेता कार्यकर्तासँग भेट गरे । बिर्तामोडको किङ्सबेरीमा प्रेस चौतारीका सदस्यहरु र जनसंगठनका नेताहरुसँग पनि भेटघाट गरेको एमाले झापाले जनाएको छ ।