इलाम । राष्ट्रिय जनमुक्ति पार्टीले इलाम चोक बजारमा आमसभा गर्दै नागरिकता विधेयक चुनावी एजेण्डा भएको टिप्पणी गरेको छ । पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले नागरिकता विधेयक अनागरिकलाई नागरिक बनाउने सत्ताधारीको खेल भएको आरोप पनि लगाए ।

 

उनले नागरिकता विधेयक चुनावी एजेन्डामात्र भएको बताउँदै क्षणिक स्वार्थ र सत्ता लोभका कारण ठूला दलहरुले नाटक गरेको आरोप लगाए । ‘आफ्ना नागरिकलाई नागरिकताका वितरण गर्नका लागि कुनै विधेयक आवश्यक छैन’, अध्यक्ष पालुङ्वाले भने, ‘एउटा नेपाली नागरिकले नागरिकता पाउनुपर्छ, नागरिकता पाउने उसको अधिकार हो, कानुनअनुसार नागरिकता दिए भइगयो नि १’

 

अध्यक्ष पालुङ्वाले अभाव, प्रभाव र दबाबमा विदेसिएका नेपाली नागरिकलाई चाहीँ गैरआवासीय नेपाली भनेर पन्छ्याउने र अनागरिकलाई नागरिक बनाउने खेलमा नलाग्न ठूला दललाई चेतावनी दिए । उनले विभिन्न कारणले विदेसिएका नेपालीप्रति ठूला दलहरु उदासीन रहेको बताउँदै नोट चल्ने भोट नचल्ने प्रवृत्तिमा रहेको बताए ।

 

आगामी मंसिर ४ मा हुने निर्वाचनमा पालुङवाले इलामको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि पूर्व सभामुख एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निर्वाचन क्षेत्र हो । नेम्बाङसँग प्रतिस्पर्धा गर्न जनमुक्ति पार्टीले आफ्ना उम्मेद्वार तयारी अवस्थामा राखेको जनाइसकेको छ । उनले अबको निर्वाचनमा देश र जिल्लाको अवस्था हेरेर मतदान गर्न आग्रह गरे ।

 

अहिलेका दलहरुले यो संकटबाट देशलाई निकास दिन नसक्ने बताउँदै राष्ट्रिय जनमुक्ति पार्टी चुनावी सभामार्फत जनतालाई सजग गर्न इलाम प्रवेश गरेको अध्यक्ष पालुङ्वाको भनाइ थियो । उनले क्षणिक लाभ र स्वार्थको प्रलोभनमा ठूला दलहरुले एमसीसी जस्ता राष्ट्रघाती विषयलाई समर्थन गरेर नेपाल भूराजनीति गर्ने थलो बनाउन लागेको आरोप लगाउँदै त्यसको विरोध जनमुक्तिले गर्ने दाबी गरे ।

 

सभामा पार्टीका उपाध्यक्ष विधु प्रकाश कायस्थले विदेशी ऋणको भारले मूलुक श्रीलंका पथमा जान लागेको टिप्पणी गरे । उनले यसअघि दलहरुले जनमतको सम्मान गर्न नसकेकाले यो अवस्था आएको बताए ।

 

कार्यक्रममा उपमहासचिव विष्णु थाङ्देन, केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङ, संघीय सदस्य तथा महिला नेतृ मीना पन्धाक, माङ्सेबुङ गाउँपालिका वडा नं. ५ का अध्यक्ष नगेन्द्र राईलगायतले जनमुक्तिको मुद्दा नेपाली माटो सुहाउँदो भएको हुँदा नेपाली जनतालाई मुक्ति दिलाउनको लागि बलियो अस्त्र भएको बताए ।

 

कार्यक्रममा केन्द्रीय सदस्य लोक आङ्ला, प्रदेश अध्यक्ष पर्शुराम मगरलगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । टुडिखेलबाट सुरु भएको र्यालीमा एमसीसी खारेज गर, भ्रष्टाचारी दलहरु होसियार जस्ता नारा लगाएर लाकुरी चोकमा सभाको आयोजना गरिएको थियो भने सभामा विभिन्न राजनीतिक दल परित्याग गरि ४० जनाभन्दा बढी कार्यकर्ता जनमुक्तिमा प्रवेश गरेको पार्टीका युवा नेता राज खम्बूले बताए ।