बिर्तामोड । झापा जिल्लामा पाँच संघीय निर्वाचन क्षेत्र, १० प्रदेशसभा क्षेत्र रहेका छन् । जसमा १ लाख ३२ हजार २५९ जना मतदाता संख्या रहेको छ । झापामा मतदानस्थल २८४ र मतदान केन्द्र ७६६ वटाबाट मतदाताले मतदान गर्ने निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।
उनका अनुसार संघीय निर्वाचन क्षेत्र नं १ मा पुरुष मतदातातर्फ ६० हजार २३७, महिलातर्फ ६० हजार १३८ गरेर एक लाख २० हजार ३७५ मतदाता छन् । यो क्षेत्रमा ४५ वटा मतदानस्थल र १३४ मतदान केन्द्र छन् ।
यसैगरी क्षेत्र नं २ मा पुरुषतर्फ ६६ हजार ६५७, महिलातर्फ ६७ हजार ४२९ र तेस्रोलिङ्गी पाँच गरी एक लाख ३४ हजार ९१ मतदाता छन् । यो क्षेत्रमा ४९ मतदानस्थल र १५२ मतदान केन्द्र रहेको सो कार्यालयले जनाएको छ ।
यसैगरी क्षेत्र नं ३ मा पुरुषतर्फ ६६ हजार ६१, महिलातर्फ ६५ हजार ३७१ गरी एक लाख ३१ हजार ४३२ मतदाता छन् भने यो निर्वाचन क्षेत्रमा ६७ मतदानस्थल र १५५ मतदान केन्द्र छन् ।
क्षेत्र नं ४ मा पुरुषतर्फ ६२ हजार २२, महिला ६१ हजार १०१ र अन्य एक गरी एक लाख २३ हजार १२४ मतदाता रहेको र ६३ मतदानस्थल र १४९ मतदान केन्द्र रहेका छन् ।
त्यसैगरी क्षेत्र नं ५ मा पुरुषतर्फ ७६ हजार ६७, महिला ७८ हजार २२० र अन्य दुई गरेर एक लाख ५४ हजार २८९ रहेको र ६१ मतदानस्थल र १७६ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी गराएको छ । जिल्लामा सबैभन्दा बढी मतदाता क्षेत्र नं ५ मा एक लाख ५४ हजार २८९ रहेका छन् ।