शनिश्चरे । प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गतको मंसिर ४ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर २ को मतगणना अर्जुनधारा नगरपालिकाको सभाहलमा सुरु भएको छ । पहिलो चरणमा अर्जुनधारा नगपालिकाकै ११ नम्बर वडाको महारानीगञ्ज मावि मतदान केन्द्रबाट सुरु गरिएको छ ।

 

पहिलो मतपरिणामअनुसार ९०० मतको नतिजा प्रकाशित भएको छ । निर्वाचन कार्यालयका अनुसार ९ सय मत गन्दा नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरेले ४२२ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेद्वार हरिकुमार रानाले १९८ मत प्राप्त गरेका छन् ।

 

यस्तै, स्वतन्त्र उम्मेद्वार स्वागत नेपालले १ सय मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार रूद्रप्रसाद गिरीले ९९ मत पाएका छन् । बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणनाका लागि प्रक्रिया शुरु गरिएको थियाे । सर्वदलीय बैठक सकेर गणना शुरु गरिएको जनाइएको छ । अर्जुनधारा ११ को मतपेटिकाबाट गन्न थालिएको हो ।

 

यसैगरी, बिहान ९ बजेबाट अन्य ८ ठाउँमा मतगणना हुने जनाइएको छ । अहिले एक ठाउँमा मतगणना शुरु गरिएकोमा बिहान ९ बजेबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २ ठाउँ, प्रदेशसभाको प्रत्यक्षतर्फ २ ठाउँ, प्रतिनिधिसभाको समानुपातिकतर्फ २ ठाउँ र प्रदेशसभाको समानुपातिकतर्फ २ ठाउँ गरी थप ८ ठाउँमा गणना गर्नेगरी तयारी थालिएको छ ।

 

यस क्षेत्रमा एमालेका देवराज घिमिरे, गठबन्धनका हरि राना, स्वतन्त्र उम्मेदवार स्वागत नेपालबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।