झापा । झापामा १४ महिलासहित १५७ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ ७९ र प्रदेशसभा सदस्यतर्फ ७८ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए ।

 

उम्मेदवारले धरौटी रकम जोगाउन नसक्दा १० लाख ३० हजार राजश्व जम्मा भएको छ । धरौटी जफत हुने प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर १ मा १२, क्षेत्र नम्बर २ मा १४, क्षेत्र नम्बर ३ मा १६, क्षेत्र नम्बर ४ मा १५ र क्षेत्र नम्बर ५ मा २२ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

 

त्यस्तै प्रदेशसभातर्फ झापा १ (१) मा ४ जना, (२) मा ८ जना, झापा २ (१) र .२) मा ८८ जना, झापा ३ (१) मा ६ जना, (२) मा ९ जना, झापा ४ (१) मा ८ जना, (२) मा ९ जना र झापा ५ (१) मा ८ जना, (२) मा १० जना रहेको सूचना अधिकारी न्यौपाने बताए ।

 

झापा पाँच निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यतर्फ ९४ र प्रदेशसभा सदस्यतर्फ ९८ गरी कुल १९२ जना चुनावी प्रतिस्पर्धामा थिए । जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेकोमा ४ लाख ४६ हजार २ सय ५५ मत खसेको थियो । धरौटी रकम जोगाउन उम्मेदवारहरूले आफ्नो क्षेत्रमा खसेको कुल मतमध्ये सदर मतमा १० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छ । १० प्रतिशत मत ल्याउने नसक्ने उम्मेदवारको धरौटी जफत भएको न्यौपानेले बताए ।

 

प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ ५ हजार उम्मेदवार दर्ता शुल्क तोकिएको थियो । आयोगले तोकिएको रकममध्ये महिला, दलित, अल्पसङ्ख्यकको हकमा ५० प्रतिशत उम्मेदवार दर्ता शुल्क छुट दिएको थियो । सोही अनुसारको धरौटी रकम जफत भएको उनले बताए ।

 

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अन्य साना दलका उम्मेदवारले धरौटी रकम जोगाउन सकेन । स्वतन्त्रतर्फ झापा २ का प्रतिनिधिसभा सदस्य भद्रप्रसाद नेपालले धरौटी रकम जोगाउन सफल भएका छन् ।