झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का सदस्य एवम् न्यूटन्स एकेडेमी र एभरेस्ट स्मार्ट स्कूलका संस्थापक प्रिन्सिपल हरि प्रसाईको निधनप्रति प्याब्सन झापाले गहिरो दुःख व्यक्त गरेको छ ।

 

प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले आइतबार एक विज्ञप्ती जारी गर्दै प्याब्सन झापाका पूर्व अध्यक्ष समेत रहेका प्रसाईको निधनले शिक्षा क्षेत्रमा अपुरणीय क्षति पुगेको जनाएका छन् ।

 

प्रसाईको निधनप्रति दुःख व्यक्त गर्दै मंसीर १९ गते सोमबार झापाका सम्पूर्ण प्याब्सन सदस्य विद्यालयमा शोक विदा स्वरुप एकदिन विदा दिने निर्णय गरिएको प्याब्सन झापाका सचिव पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । स्व. प्रसाईको आइतबार अमेरिकामा उपचारका क्रममा निधन भएको हो ।

 

न्यूटन्स् एजुकेसन एकेडेमीका संस्थापक प्रसाईँको ७१ वर्षको उमेरमा बिहान ५ः३० बजे अमेरिकामा निधन भएको थियो । उनलाई पेटको क्यान्सर रहेको थियो । शिक्षा क्षेत्रमा उनले धेरै योगदान दिएका थिए ।

 

उनका श्रीमती धर्मा प्रसाईँ, एक छोरा, बुहारी र तीन छोरी रहेका छन् । अमेरिकामा रहेकी छोरीसँगै रहेर उनले त्यहीँ उपचार गराउँदै आएका थिए ।