लक्ष्मीपुर । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याव्सन) झापाको आयोजना तथा प्याव्सन अर्जुनधाराको संयोजनमा शुक्रबारदेखि अर्जुनधारामा पालिकास्तरीय गायन तथा नृत्य प्रतियोगिता २०७९ सुरु भएको छ । आज सम्पन्न दुई विधाका नृत्यतर्फ एम्स एकाडेमी र कालिका शिशु सदनका विद्यार्थी प्रथम भए ।

 

प्याब्सन अर्जुनधाराको सञ्चालनमा अर्जुनधारा ५ स्थित लक्ष्मीपुरमा रहेको होली बेसिल एजुकेशन फाउण्डेशनको प्राङ्गणमा आयोजित उक्त प्रतियोगिताको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत मावितर्फ सांस्कृतिक नृत्य, आधारभूततर्फ राष्ट्रिय नृत्य आज सञ्चालन भएको थियाे ।

 

जसमा राष्ट्रिय नृत्यतर्फ कालिका शिशु सदन प्रथम भयो भने हिमाली एजुकेशन फाउण्डेशन दोस्रो र रुपरत्न मेमोरियल बोर्डिङ स्कुल तेस्रो भएको छ । यस्तै, सांस्कृतिक नृत्यतर्फ एम्स एकाडेमी प्रथम हुँदा स्वस्तिका शिशु सदन दोस्रो र रुपरत्न मेमोरियलका विद्यार्थीको नृत्य तेस्रो भएको छ ।

 

यस्तै, प्रावितर्फ आधुनिक नृत्य र सिनियर तथा जुनियर गायन प्रतियोगिता हुने प्याबसन अर्जुनधाराका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक कुमार रायाले जानकारी दिए । प्याब्सन अन्तर्गत रहेको ३१ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताको नृत्यतर्फका निर्णायक चन्द्र तामाङ र नगेन्द्र राई रहेका छन् ।

 

प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित कार्यक्रममा निजी तथा आवासीय विद्यालयको क्षेत्रमा विशेष योगदान पु¥याउने कालिका शिशु सदनका संस्थापक मोहन सुब्बा र प्रगति अङग्रेजी आवासीय विद्यालयका कर्मचारी कृष्णबहादुर तामाङलाई ‘उत्कृष्ट कर्मचारी’बाट सम्मानित गरिएको थियो ।

 

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्मा, सञ्चारकर्मी दिपिन राईलगायतले मन्तव्य राखेका थिए । प्याव्सनका उपाध्यक्ष रायाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव राजेशकुमार आचार्यले गरेका थिए ।